यातायात व्यवस्था कार्यालय बाँकेमा अहिले नक्कली लाइसेन्स बनाउने काण्डमा विभिन्न आरोप प्रत्यारोप हुन शुरु भएको
छ । यातायात व्यवस्था कार्यालय बाँकेबाट नक्कली लाइसेन्स बनाउने कार्य कुनै नयाँ होइन विगत कैयन वर्षअघि जब यातायात व्यवस्था कार्यालय कारकाँदौंमा स्थापित थियो त्यस समय कार्यालय नजिकै रहेको एक भवनमा नक्कली लाइसेन्स बनाउने समूह सक्रिय थियो । सो समयमा सो भवनमा छापा पर्दा लाइसेन्स बनाउने नक्कली छाप, फार्म लगायत प्रहरीले पक्राउ गरी दोषीहरुमाथि कारवाही चलाएको थियो । यस्तो नक्कली लाइसेन्स बनाउने तमाम समूह आज पनि सक्रिय छन् । अहिले लाइसेन्स बनाउन जाँदा समय लिखित परीक्षामा पास गराउन कार्यालयका सम्बन्धितले त्यस्ता परीक्षार्थीहरुसँग २ हजार रकम लिई लिखित परीक्षामा पास गराउने ठेक्का लिई रहेको देखिन्छन् । यस्तो अवैध असुली यहिँसम्म सीमित छैन कोहलपुरको तेह्र बिघा नामक स्थानमा ड्राइभिंग लाइसेन्स लिन ट्रायल लिइने गरिन्छ यहाँ ट्रायलमा पास गराउने एउटा प्रशिक्षार्थीलाई ट्रायलमा पास गराउन १२ देखि १५ हजार रकम असुली गर्ने गरिन्छ । यस्तो लुट यहिँसम्म सीमित छैन ट्रायल दिनको लागि त्यहाँ थुप्रै मोटरसाइकल लगायत सवारी साधन उपलब्ध छ ट्रायलको लागि उपलब्ध गराउने यातायातका साधन मोटरसाइकल लगायतको भाडा मूल्य अति नै चर्काे छ । केही बेरको लागि मोटरसाइकल भाडामा लिँदा ट्रायल दिने व्यक्तिको १४–१५ सय रकम जाने गरेको छ । यस्तो लुटपाट कार्य आजसम्म त्यहाँ जारी छ । अहिले नक्कली लाइसेन्स बनाउने घोटालामा केही नेताहरुको नाम मुछिएको छ । लुम्बिनी प्रदेशका एक जना मन्त्री प्रचण्ड विक्रम न्यौपाने र दुई जना सांसद रत्न खत्री र अम्बिका काफ्लेको यस घोटालामा नाम मुछिएपछि उनै चारै जनाको मोबाइल लगायतबाट प्रमाण जुटाई कारवाही प्रक्रिया अघि बढाइएको छ । अधिकाँशहरु धरौटीमा रिहा भएका छन् । यसबीच केही नेताहरुले आफूले मात्र लाइसेन्स बनाउने सिफारिस गरेको तर आर्थिक लाभ लिइएको छैन भनि सफाई दिएका छन् । यस घटनामा केहीहरु निर्दाेष हुन सक्छन् तर दालमा केही कालोपन अवश्य छ । किनकी लाइसेन्स बनाउन कार्यालयभित्रबाट सेटिंग हुने गरेको छ । यसमा कोही पनि दुई मत हुन सक्दैन । यातायात कार्यालयभित्र गहिरिएर अनुसन्धान गर्ने हो भने घोटाला गर्ने ठूला ठूला माछाहरु समातिन्छन् । यातायात व्यवस्था कार्यालयमा नामूदहरुको ठूलो समूह छ । यहाँ अवैध असुली गर्ने ठूलो ठूलो व्यक्तिहरु छन् । यस कारण अब अनुसन्धान यहिँसम्म रुक्नु हुँदैन । अनियमितता गर्नेमाथि हात हालिएको छ भने त्यस्ता समूहका ठूला नाइकेहरुलाई पनि पक्राउ गर्नु जरुरी छ । अब दूधका दूध पानीका पानी हुने गरी अनुसन्धान हुनु पर्छ चोर पक्राउ परेपछि भन्छ मैले चोरी गरेको छैन, निर्दाेषलाई फसाइएको छ भनि आफ्नो सफाई दिन्छ । अहिले यस घोटालामा नाम मुछिएका नेताहरुले भनि रहेका छन् मैले लाइसेन्सको लागि मात्र सिफारिस गरेको छु आर्थिक लाभ लिएको
छैन । उनीहरुको यस्तो भनाई वाहियात प्रकारको हो । जसलाई लाइसेन्स बनाउनु छ त्यो लिखितदेखि मौखिक वा ट्रायल सम्मको प्रक्रिया पूरा गरी आफै नै लाइसेन्स लिई हाल्छ यसमा सिफारिसको अर्थ के हो ? यातायात व्यवस्था कार्यालयको काम कारवाही पारदर्शी बनाउने सोच छ भने कडाईपूर्वक सबैमाथि अनुसन्धान हुनुपर्छ अनिमात्र चोर को हुन् सबै कुरा आफै नै प्रष्ट हुन्छ ।