– मनोज कुमार कौशल
नेपालगन्ज । एकतर्फ भिषण गर्मीको मार अर्काेतर्फ पटक–पटक पटक विद्युत आउने जाने खेलले गर्दा यतिखेर नेपालगन्जवासी दोहोरो समस्याबाट जुधी रहेका छन् ।
बाँके जिल्लामा यतिखेर ३४ डिग्री सेल्सियसको गर्मी रहेकोले व्यक्तिलाई चक्कर आउने, रिंगटा लाग्ने जस्तो समस्या देखा परेको छ । घरदेखि बाहिर निस्कन गाह्रो छ । यसबीच नेपाल विद्युत प्राधिकरणको हेलचक्र्याईको कारण दिनभरी विद्युत आउने जाने गरेको छ । प्राधिकरणले विद्युत जाने समय तोकेको छैन तर पनि अघोषित रुपमा लोडसेडिंको शिकार यो क्षेत्र रहेको छ । अहिले कहिँ ट्रान्सफर्मर फेल हुने त कतै आगो लाग्ने ठाउँमा विद्युत तार चुडिने गरेको छ जसको कारण दिनहुँ १०–१० मिनेटमा विद्युत आउने जाने गरेको छ । अधिकांश समय विद्युत रहँदैन तर पनि उपभोक्ताको विद्युत बिल बढेर आइरहेको छ । पटक–पटक विद्युत आउने जाने गरेकोले उपभोक्ताको विद्युतीय सरसामग्री फ्रिज, कुलर, एसी, टिभी लगायत बिग्रिने गरेको छ । यहाँ रहेका कैयन संघ संगठनले विद्युत कार्यालय अगाडि प्रदर्शन धर्ना गरेर विद्युत प्रसारण सुधारका लागि ज्ञापनपत्र समेत बुझाउँदै आएका छन् तर पनि विद्युत प्रसारण कार्य एक किसिमले ठप्प प्राय बनेको छ यस्तो विद्युत आउने जाने समस्याको कारण इन्भर्टर, जेनेरेटर बिक्री गर्ने प्रतिष्ठानलाई बढी फाइदा पुगेको देखिन्छ । इन्भर्टर, जेनेरेटर लगायत सामग्री भारी परिमाणमा यहाँ बिक्री गराउन प्राधिकरणले कृत्रिम रुपमा विद्युत प्रसारणमा खराबी गरि रहेको जन गुनासो रहेको छ ।