– मनोज कुमार कौशल
नेपालगन्ज । राजधानीमा रहेको चतुर्मुखी शिवलिंग जस्तै नै चतुर्मुखी शिवलिंग नेपालन्जमा देखा परेको छ । यो चतुर्मुखी शिवलिंग नेगउमनपा वडा नं. ९ बाँकी गाउँमा एउटा अत्यन्त जीर्णशीर्ण अवस्थामा रहेको टीनको छानो रहेको घरमा स्थापित रहेको छ । बाँकी गाउँ बस्ने स्थानीय वासिन्दा भैरव राज पौडेलसँग यसपत्रिकाले यस चतुर्मुखी शिवलिंगबारे जानकारी लिन खोज्दा उनले भने, करीब २८ वर्ष अघि यस टोलमा बस्ने एक जना व्यक्ति राजधानीमा पुगी भगवान पशुपतिनाथ जस्तै प्रकारको चतुर्मुखी शिवलिंग त्यहाँबाट ल्याई यहाँ स्थापित गरेका थिए त्यसपछि यो बेवारिसे जस्तो बन्यो पछि टोलवासीले यस टोलका एक जना स्थानीय वासिन्दा बच्छराज धोबीलाई यहाँ रेखदेख गर्न र पुजाआजा गर्न राखे । अहिले उनै व्यक्ति चतुर्मुखी शिवलिंग स्थापित रहेको कोठा खोली पुजाआजा गर्ने गर्छन् । उचित सम्भार ररेखदेख नभएकोले चतुर्मुखी भगवान शिव यस जीर्णशीर्ण घरमा वर्षाैंदेखि वास गरेका छन् यसको अगाडि धार्मिक कार्यक्रम गर्ने पर्याप्त स्थान बेवारिसे अवस्थामा छ । यो घर जस्तो मन्दिर सार्वजनिक जस्तो छ यसको कुनै समिति अहिलेसम्म बनेको छैन ।
स्थानीय निकायले अन्य मन्दिर र देवालयहरुको मर्मत सम्भारका लागि पर्याप्त रकम छुट्याउँदै आएको छ तर यहाँका टोलवासीहरुले यस मन्दिरको उचित संवद्र्धन नगरेकोले यो अति जीर्णशीर्ण अवस्थामा छ चतुर्मुखी शिवलिंग नेपालगन्ज उपमहानगरपालिकाभित्र कहिँ पनि स्थापित नरहेकोले यो अति नै दुर्लभ छ । चतुर्मुखी शिवलिंग भारतको हरिद्वार स्थित श्रवणनाथ मठमा त्यस्तै राजस्थानको उदयपुरमा एकलिंग मन्दिरमा स्थापित रहेको छ । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा स्थापित चतुर्मुखी शिवलिंगलाई युनेस्कोले विश्वको साँस्कृतिक धरोहरमा राखेको छ । श्रावणमासमा चतुर्मुखी शिवलिंगको विग्रहमा जलाभिषेक गरे मनोवाञ्छित मनोकामना पूर्ण हुने धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।
भारतको हरिद्वारमा स्थापित रहेको पशुपतिनाथ मन्दिरको निर्माण करिब २०० वर्षअघि संवत १८७६ मा नेपालका राजा राजेन्द्र विक्रम शाहले आफ्ना गुरु श्रवण मठका सन्त श्रवणनाथ गिरीको प्रेरणा र आदेशले निर्माण गराउनुभएको उल्लेख पाइन्छ भने त्यस समय मेवाडका राजा राजरतन सिंहले मन्दिर निर्माण कार्यलाई सघाएको समेत उल्लेख पाइन्छ । यस मन्दिरमा काठमाडौँको पशुपतिनाथ मन्दिर जस्तै नै विग्रहको रूपमा भगवान शिवको चतुर्मुखी प्रतिमा स्थापित रहेको छ । यो मन्दिर निरञ्जनी अखाडाको अन्तर्गत छ । शिवलिंग विग्रहको अर्थ हो यसमा शिवलिंगको चारै तर्फ मुख हुनुको साथसाथै माथिको तर्फ एकवटा मुख हुन्छ यसको चारवटा मुख आफ्नो छुट्टै महत्व राख्छ । यसको चार वटै मुखको छुट्टाछुट्टै नाम छ । शिवलिङको पूर्व दिशातर्फ बनेको मुखलाई बामदेव र पश्चिमतर्फ बनेको मुखलाई साधयोजटा भनिन्छ भने शिवलिंगको माथिल्लो भागलाई इशान भनिन्छ । यी सबै मुखलाई चारवटा वेदको चिन्हको रूपमा वर्णन गरिएको छ । चतुर्मुखी शिवलिङ एकदमै कमै मात्रामा छ । यसकारण यसलाई अत्यन्त दुर्लभ मानिएको छ । नेपालगञ्जको वडा नम्बर ९ बाँकी गाउँमा स्थापित रहेको चतुर्मुखी शिवलिंग करिब २८ वर्ष पुरानो छ । यसको संरक्षण सम्बर्धन गरे नेपालगञ्जको महत्व बढ्ने सम्भावना रहेको छ । मुख्य शिवलिङ वर्तमान समय बेवारिसे अवस्थामा छ टिनको छानो धेरै पुरानो रहेकोले ठाउँ ठाउँबाट पानी चुहिने गरेको छ । मन्दिरमा पुजारी समेत छैन यसकारण विधिपूर्वक पूजाआजा हुन सकेको छैन सम्बन्धित निकायले यसतर्फ ध्यान पु¥याई यस दुर्लभ चतुर्मुखी शिवलिंगको सम्बर्धनको लागि पहल गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।