नेपालगन्ज । चैते दशैं राम नवमी पर्व गत आइतवार दिनदेखि शुरु हुँदै शनिवार महाष्टमी पर्व सम्पन्न भइ आइतवार दिन राम नवमी पर्व हर्षाेल्लासपूर्वक मनाइएकोछ ।
चैते दशैं नवरात्रि पर्वमा माताको आठ स्वरुपको भक्तिभाव ढंगले पुजा आराधना गरिन्छ भने नवमीको दिन मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुजा आराधना गर्ने गरिन्छ ।
धार्मिक मान्यता अनुसार रामनवमीको दिन नै भगवान रामको जन्म भएको थियो तर केही मान्यता अनुसार यसै चैते दशैंमा दशानन रावणको भगवान श्रीरामले वद्य गरेका थिए । अवधी साहित्यमा एउटा दोहा छ, चइत शुक्ल चौदस जब आई म¥यो दशानन जग दुखदाई । तर पनि दशानन रावणलाई यो चैते दशैंमा पुतला दहन नगरी शारदीय नवरात्रि आश्विन महिनामा पर्ने बडादशैंमा पुतला दहन गरी दशहरा पर्व मनाइन्छ । चैते दशैं राम नवमी पर्वको अवसरमा बाँके जिल्लाको विभिन्न भागबाट श्रद्धालुहरु ऐतिहासिक बागेश्वरी मन्दिरमा पुगी पुजाआजा गरे । यसमा यस वर्ष थोरै मात्रामा भारतबाट श्रद्धालुहरु बागेश्वरी मन्दिरमा पुजाआराधना गरेको पाइन्छ । यसको कारण हो अव्यवस्था र हेलचक्र्याईको कारण अहिले पनि बागेश्वरी मन्दिरमा भई रहेको निर्माण कार्य सम्पन्न भएको छैन । यस कारण श्रद्धालुहरुलाई मन्दिरमा पुजाआजा गर्न ठूलो अप्ठेरोको सामना गर्नु परेको छ ।
चैते दशैं राम नवमी पर्व मनाउन नेपालगन्जको विभिन्न मन्दिर, देवालयहरु बेहुली झैं सिंगारिएको थियो । यस्तो मन्दिर देवालयहरुमा नवमी तिथिसम्म विधि विधानले पुजा सम्पन्न गरियो । शनिवार दिन परेको अष्टमी तिथिमा कन्या पुजा गरियो र नवमीको दिनमा भगवान रामको पुजा आराधना गरी यो पर्व आइतवार दिन सम्पन्न भएको छ ।