जनताले देश विकासको लागि लोकतन्त्र र गणतन्त्र ल्याएका थिए उनीको बुझाई थियो यस परिवेशमा सबैलाई वाक स्वतन्त्रताको अधिकार, बराबरीको हक अधिकार र देशमा शान्ति सुव्यवस्था, विधिको शासन भयमुक्त समाजको स्थापना हुनेछ तर भयो यसको ठिक विपरीत लोकतन्त्र र गणतन्त्रको स्थापना त भयो तर जनचाहना अनुसार कार्य भएन । यस परिवेशमा भ्रष्टाचारले तिव्रता पायो । हिजो साइकलमा चढ्न नसक्ने थुतेर खाने नेता अकस्मात मालामाल बनी पजेरो र प्लेनमा चढ्ने औकातका भए । यसमा गरीब निर्धन जनता झनझन निर्धन बन्दै गए धनी अझ धनी बन्दै गए । शान्तिको कल्पना नै नगरौं चेलीबेटीहरु असुरक्षित छन्, निर्मला पन्तसँग विभत्स घटना घट्यो तर सरकारीतन्त्र दोषीहरुलाई पक्राउ गरी दण्डित गर्नुको साटो अपराधीहरुको संरक्षण गर्न तर्फ लाग्यो जसको कारण निर्मला पन्तले आजसम्म न्याय पाउन सकेकी छैनन् भ्रष्टाचार यति चरममा छ कि त्यसको गन्तीसम्म गर्न गाह्रो भएको छ । रोजगार खोज्दै देशको युवा शक्ति विदेशतर्फ पलायन गरेका छन् उनीको सुरक्षाको ग्यारेन्टी छैन । युवा विदेशतर्फ रोजगार खोज्दै जाने गरेका छन् यसमा तमामहरुको बाकसमा भरी शव आई रहेको छ नेपाली युवा विदेशमा सस्तो श्रम बेच्न बाध्य छन् तर सरकार रेमिट्यान्स बटुल्नमा व्यस्त छ । हिमाली पहाडी लगायत क्षेत्र अब युवाले खाली भई सकेको छ त्यहाँ बचेका वृद्धवृद्धालाई हिन्दु धर्म छाड्न लगाउन विदेशी धर्म प्रचारक पसी रहेका छन् । कुनै समय यो देशमा वैदिक सनातन धर्मको बोलबाला थियो तर छदम बेसधारी नेताहरुले डलर कमाउन क्रिश्चियनको घण्टी बजाउन थालेका छन् । देशको प्राचीन धर्म संस्कृति सभ्यता र नेपाली इतिहास सबैनै मेटाउन गिद्ध नेताहरु लागी परेका छन् यस कारण अब एउटा ज्वलन्त प्रश्न उठी रहेको छ कि बोल्ने अधिकार चाहियो कि देशको विकास ? व्यवस्था परिवर्तन चाहियो कि टाउको परिवर्तन ? सबैले देशको विकास चाहेका छन् । यसका लागि बोल्ने कम तर काम बढी गर्ने सोच बनाउनुपर्ने जरुरी छ । व्यवस्था परिवर्तन भयो र देश अगाडि बढ्न सकेन भने परिवर्तनको लागि आन्दोलनको औचित्य छैन । अब व्यवस्था परिवर्तन पंचायत व्यवस्था जस्तो हुनु हुँदैन । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जस्तो पनि हुनु हुँदैन । परिवर्तन गर्ने सोच छ भने तलदेखि माथिसम्मको परिवर्तन हुनुपर्छ यसको लागि परिवर्तन पछि कडा कानुन बन्नु पर्छ । विगतदेखि वर्तमानसम्म तमाम ठूला भ्रष्टाचारको घटना भएको छ त्यस्तो भ्रष्टचारको छानबीन गरी दोषीहरुलाई आजीवन कारावासको व्यवस्था हुनु पर्छ । नेताहरुले जति रकम विदेशमा राखेका छन त्यो सबै रकम फिर्ता ल्याई देशको विकासमा लाग्नु पर्छ । अहिलेसम्म भ्रष्टाचारी देशबाट भागेका छैनन् तसर्थ उनीको अवैध सम्पत्ति छापा मारी निकाली त्यो सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यसको लागि एउटा कडा कानूनको आवश्यकता छ जसले कडाई गरी सबै भन्दा पहिले सबै प्रकारको भ्रष्टाचारको अन्त गर्ने कार्य गरोस् । किनकी नेपालमा करीब १७ वा २० वर्षको अवधिमा परिवर्तनको लागि आन्दोलन हुँदै आएको छ । २००७, २०१७, २०४६ देखि २०६२।०६३ र अब १७ वर्षभित्रै पुनः व्यवस्था परिवर्तनको लागि संघर्ष चल्न शुरु भएको छ । फेरी अर्काे परिवर्तन हुन्छ र परिवेश पुरानो जस्तो नै रहन्छ भने यो परिवर्तन पनि बेमानी साबित हुनेछ । परिवर्तनको लागि यो संघर्ष चल्नु हुँदैन किनकी जनतालाई कुनै परिवर्तनबाट लाभ कहिले पनि मिलेन । फेरी पनि लाभ मिल्दैन । जुन जोगी आए कानै चिरेको जस्तो उक्ति चरितार्थ हुन्छ भने परिवर्तनको कुनै कार्य छैन । राम राजा बनुन् वा रावण राजा बनोस् जनताको यसमा सरोकार के ? पंचायतकालमा मण्डले शक्तिको अराजक कार्यहरु देखियो सो शासनमा पनि अनगिनत घटनाहरु घटेको थियो । लोकतन्त्र र गणतन्त्रमा निर्मला पन्तको घटना घटेको थियो भने विगतको पंचायती शासनकालमा नमिता सुमिता काण्ड घटेको थियो । लोकतन्त्रमा बालुवाटार, कुन्टलौं सुन लगायत पचासौं घटना घटेको छ भने विगतको शासनकालमा धमिजा काण्ड, गलैचा काण्ड, पिस्कर काण्ड लगायत दर्जनौं काण्ड भएको वास्तविक कुरा हो । यस कारण नेताहरुको चरित्र फेर्नु जरुरी छ अनुहार फेरेर केही पनि हुँदैन । चरित्र फेर्नु छ भने कठोर शासन व्यवस्था हुनु पर्छ । अहिले जसरी जसरी संघर्ष चरम रुप लिँदैछ नेताहरुको बोली पनि फेरिन थालेको छ । यिनीहरुलाई नेता भन्नु लाज हुन्छ बरु यिनीहरु बहुरुपिया मात्र हुन् जो कि आफ्नो रुप फेर्नमा पारंगत हुन्छन् । अहिले केही नेताहरु पूवं शाहवंशीय राजाहरुमाथि लाञ्छना लगाउन आफूहरुलाई सीमित राखेका छन् केहीहरु वर्तमान राजालाई गाली गर्नमा लागेका छन् । यिनीहरु आफ्नो आंगको जुम्रा हेर्ने प्रयास गरी रहेका छैनन् तर अर्काको शरीरको फोहोर देख्ने अवश्य प्रयास गरी रहेका छन् । अब मौकापरस्त नेताहरु ऊँट कुनतर्फ कोल्टो फेर्छ यो देख्ने प्रयास गरी रहेका छन् । परिणाम लोकतन्त्र गणतन्त्रतर्फ जान्छ भने त्यही अनुसार आफ्नो सोचमा परिवर्तन उनी ल्याउँछन् । परिणाम हिन्दु राष्ट्र र राजतन्त्र तर्फ जान्छ भने त्यसै अनुसारको मन्साय बनाउँछन् अब धेरैजसोहरु प्रकृति अनुसार आ–आफूमा परिवर्तन ल्याउन शुरु गर्छन् । राजतन्त्र स्थापित हुने जस्तो हुन्छ भने तमामहरु अहिलेदेखि नै नयाँ कोट, दौरा सुरुवाल (राष्ट्रिय पोशाक) लगाई दरबार छिर्ने जुक्ति लगाउँछन् यस्ता बहुरुपियाबाट सबै नै सावधान बन्नु जरुरी छ बहुरुपियाहरुबाट न त नेपाली जनताको भलो हुन्छ न त देश र समाजको । यस कारण स्वस्थ, शुद्ध मानसिकता बनाऔं र देशको दिर्घ विकासको लागि सोच बनाऔं जसबाट देशमा पुरानो सभ्यता संस्कृति स्थापित होस् । देश समृद्धशाली बनोस् ।