– मनोज कुमार कौशल
नेपालगन्ज । हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि आन्दोलन चल्दा शुक्रवार दिन राजधानीमा भएको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको छ । यसमा ७ जना घाइते छन् घाइतेमध्ये १ को स्वास्थ्य स्थिति चिन्ताजनक रहेको छ ।
राष्ट्रवादी शक्तिहरुले शुक्रवार दिन राजधानीको तीनकुनेमा एकत्रित भई शान्तिपूर्ण प्रदर्शन र कोणसभाको आयोजना गरेका थिए । तसर्थ सो कार्यक्रममा करिब ४ हजार राष्ट्रवादीहरु भेला भएका थिए ।
यसबीच गणतन्त्र पक्षधर समाजवादी मोर्चाले पनि राजधानीमा नै शान्तिपूर्ण प्रदर्शन गर्ने आव्हान गरेको थियो । गणतन्त्र पक्षधरको कार्यक्रम शान्तिपूर्ण ढंगले भयो भने राष्ट्रवादी शक्तिले गरेको आन्दोलन अकस्मात हिंसक बन्यो । यसको कारण थियो प्रहरीले केही भवनमा मोर्चा सम्भाली प्रदर्शनकारीहरु माथि म्याद नाघेको १५ वर्ष पुरानो अश्रु ग्यास, वाटर केनन प्रहार, ढुंगा मुढा, लट्ठी चार्ज, केही राउण्ड गोली समेत चलायो जसको कारण प्रदर्शनकारी उग्र बने र उनीहरुले अश्रु ग्यास प्रहार भएको भवनहरुमा आगजनी गरे । यस घटनामा एभिन्यूज टिभीका कैमरा पर्सन पत्रकार सुरेश रजकको आगलागीबाट मृत्यु भएको छ त्यस्तै १ जना सर्वसाधारणको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको छ । राष्ट्रवादीले नवराज सुवेदीको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको थियो तर शुक्रवार दिन प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी सामाजिक अभियन्ता औषधि व्यवसायी दुर्गा प्रसाईलाई दिइएको थियो शुरुआतको क्रममा राष्ट्रवादीहरुको प्रदर्शन शान्तिपूर्ण ढंगको थियो तर प्रहरीले मानवअधिकारको हनन गर्दै शान्तिपूर्ण ढंगले प्रदर्शन गरी रहेका प्रदर्शनकारी हरुमाथि बल प्रयोग गर्दा हिंसा भड्कियो जसबाट २ जनाको मृत्यु ७ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको यसबीच प्रहरीले १०५ जनालाई पक्राउ गरेको सूत्रले जनाएको छ । प्रदर्शन हिंसात्मक बनेपछि अनियन्त्रित भिडले अनेकौं भवनमा आगजनी, माधव कुमार नेपालको पार्टी कार्यालय, माओवादी पार्टीको कार्यालय, केही संचार गृह, जडीबुटी कम्पनी ध्वस्त पारेका थिए । कोटेश्वरमा रहेको भाटभटेनी समेतमा लुटपाट भएको छ । यस घटनापछि नयाँ बानेश्वर, त्रिपुरेश्वर, गौशालादेखि एयरपोर्टसम्म र बालकुमारी कोटेश्वर, गौरीधारा पुलसम्म अशान्ति रह्यो । यसबीच मन्त्रिपरिषदको निर्णय पछि नेपाल सेना परिचालन गरियो स्थिति अझ तनावग्रस्त बन्दा शुक्रवार दिनमा कफ्र्यु घोषणा गरियो । हिन्दु राष्ट्र राजतन्त्र पुनस्र्थापना र संघीयताको खारेजीको लागि राष्ट्रवादीले श्री ५ सरकारको चाहनामा राष्ट्रवादी नेता नवराज सुवेदीको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय आन्दोलन निर्देशन समिति गठन गरेको थियो जस समितिमा नवराज सुवेदी, दुर्गा प्रसाई, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिंगदेन, रविन्द्र मिश्र, अस्मिता भण्डारी, पशुपति शम्शेर जबरा, हरिबहादुर बस्नेत, केशर बहादुर विष्ट, रमा सिंह रहेका थिए यसै गरी निर्देशन समितिबाट आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणा, यसैगरी ५ जना सल्लाहकार समिति पनि गठित गरिएको थियो । यसको प्रमुख सल्लाहकार डा. जगमान गुरुंग, बुद्धिराज बज्राचार्य, डा. शास्त्र तत्व पन्त, डा. अहिराज र खेमराज सेढाई थिए । यिनी राष्ट्रवादीहरुले आन्दोलन परिचालन गरे सो आन्दोलन केही दिन नै तुहाई दिने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सोही दावी अनुसार अहिले बुझाई रहेको छ कि राष्ट्रवादीहरुको यो आन्दोलन तुहाउन सत्तापक्षले सो शान्तिपूर्ण आन्दोलनमा आफ्नो व्यक्तिको घुसपैठ गराई शान्तिपूर्ण आन्दोलनलाई बदनाम पार्न हिंसात्मक घटना घटायो जसको कारण करोडौं सम्पत्तिको क्षति र २ जना कालको गाँस बनेका छन् प्रहरी संवेदनशील हुन्थ्यो भने पत्रकार सुरेश रजकको उद्धार गरी उनीको जीवन बचाउन सकिन्थ्यो यसबीच प्राप्त जानकारी अनुसार पत्रकार रजकको छातीमा २ वटा गोली लागेको बताइन्छ यो गोली कसको हो यसको अनुसन्धान हुन बाँकी छ । यस ठूलो धनजनको क्षतिको कारण आन्दोलन देशभरीनै फैलिने अनुमान रहेको छ ।
राप्रपाले चैत्र २६ गते बागमती प्रदेश स्तरीय प्रदर्शन वैशाख ८ गते देशभरी नै प्रदर्शनको कार्यक्रम आयोजित गर्ने घोषणा गरी सकेको छ । एक चर्चा अनुसार अब नेपाल बन्दको कार्यक्रम पनि शुरु हुने कुरा बाहिर आउन थालेको छ ।
शुक्रवार दिन राष्ट्रवादी शक्तिले गर्ने प्रदर्शन शान्तिपूर्ण ढंगले हुने अधिकांशहरुको अनुमान रहेको थियो तर परिणाम विपरीत किसिमको देखा पर्यो सो दिन राजधानी इराक, सिरिया, इजरायल जस्तो बन्यो । राजनीकि चिन्तकहरुले अब देशलाई राजनीतिक निकास दिन दुवैपक्षले सहमतिको बाटो रोज्ने कुरामा जोड दिइ रहेका छन् तर सरकार पक्ष निरंकुशतामा अडिग रहेकोले संघर्ष अझ चर्किने जस्तो अवस्था बनि रहेको छ ।
२०६२।०६३ को जनआन्दोलन चल्दा राजसंस्था, हिन्दु राष्ट्र हटाउने भनिएको थिएन तर आन्दोलनले सफलता पाउँदै नै प्रमुख राजनीतिक दलहरुले विदेशी शक्तिको दबावमा हिन्दु राष्ट्र र राजसंस्था नै फाले ।
यस कुराबाट देशको ८५ प्रतिशत राष्ट्रवादी नेपाली जनता आहत थिए अहिले उनीहरुको आक्रोश फुटेर नयाँ जनआन्दोलनको शुरुआत भएको छ । दिल्लीमा भएको १२ बुँदे सहमतिमा पनि राजसंस्थालाई हटाउने, हिन्दु राष्ट्र हटाउने सहमति नरहेको कुरा बारम्बार प्रकाशमा आई रहेकोले विगत समयमा गरिएको त्रुटि सच्याउन, अब सहमतिको बाटो रोज्नु पर्ने राजनीतिक विज्ञहरुको भनाई आई रहेको छ ।
किनकी लोकतन्त्र र गणतन्त्रमा देशको तिव्र ढंगले विकास हुने, सबैलाई बराबरीको हक अधिकार मिल्ने भनिएको थियो तर १७ वर्षको यो गणतन्त्रमा ठूला ठूला अनगिनत भटाचार भएको छ जसको कारण देशको अवस्था बिग्रिएको छ बेरोजगारीको कारण १ करोड भन्दा बढी युवा विदेशिएका छन् ।
देशको स्थिति झनझन बिग्रिन थालेपछि अहिले देशको अवस्था र व्यवस्था सुधार्न नयाँ जनआन्दोलनको थालनी भएकोले अब यो जनआन्दोलन देशभरी नै फैलिन थालेको छ ।