– मनोज कुमार कौशल
नेपालगन्ज । नेगउमनपा वडा नं. ११ मा अहिले भइरहेको नाला निर्माण र पीसीसी सडक निर्माण कार्यमा भारी अनियमितता भई रहेको छ ।
वडा नं. ११ को कुमकुम ब्युटी पार्लरदेखि भवानी बगिया टोलको दुर्गा मन्दिरसम्म नाला निर्माण कार्य र पीसीसी सडक निर्माण कार्य जारी रहेको छ ।
यो निर्माण कार्य लुम्बिनी प्रदेश सरकारको बजेटबाट भई रहेको छ निर्माण कार्य गर्दा समय निर्माण स्थलमा सूचना बोर्ड लगाई त्यसमा निर्माण कम्पनी, ठेकेदार र पूँजी लगायत उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ तर वडा नं. ११ मा सूचना बोर्ड नराखिएकोले वडावासीहरु निर्माण कार्यप्रति सशंकित रहेको देखिन्छन् ।
नाला निर्माण र पीसीसी सडक कुन–कुन स्थानमा बन्ने र यस निर्माण कार्यमा लाग्ने सामग्रीहरु कतिको परिमाणमा लाग्ने हो यसबारेमा पनि वडावासीहरुलाई जानकारी रहेको छैन । यो पत्रिको संवाददाता निर्माण स्थलमा पुग्दा नाला निर्माणमा अढाई एमएमको सरिया प्रयोग भएको पाइयो ।
जानकारी अनुसार नाला निर्माणमा प्रयोग हुने फलामे छड १० एमएम देखि १२ एमएमसम्मको अधिकाँश रुपमा प्रयोग हुने गर्छ तर यहाँ भई रहेको नाला निर्माण कार्यमा अढाई एमएमको फलामे छड प्रयोग भएकोले सो वडाका वडा सदस्य राजेश वैश्यले कमसलखालको निर्माण सामाग्री प्रयोग भएको विरोध जनाएका छन् । वडा सदस्य राजेश वैश्यले यस पत्रिकासँग कुराकानी गर्दै भने, ‘निर्माण कार्य स्थलमा सूचना बोर्ड लगाउनु अनिवार्य छ तर विरोध भएपनि यसको अनदेखा भएकोले निर्माण कम्पनी, ठेकेदार, निर्माण लागतबारे जानकारी भई रहेको छैन ।’
कुराकानीका क्रममा उनले भने, ‘यस निर्माण कार्यमा पारदर्शिता ल्याउने माग वडावासीहरुको रहेकोले सम्बन्धितहरुले यसतर्फ ध्यान दिइ अनियमिततापूर्ण कार्यमाथि रोक लगाउन जरुरी छ ।’