– मनोज कुमार कौशल
नेपालगन्ज । केही महिनादेखि लसुनको मूल्यमा भारी वृद्धि भएको थियो तर नयाँ लसुन बजारमा आएपछि यसको मूल्यमा केही गिरावट आएको भने देखिन्छ तर अब प्याजको मूल्य केही दिनमा आकासिन थालेको छ । केही महिनाअघि लसुनको मूल्य प्रति केजी ८० थियो तर अब नयाँ लसुन आएपछि ५० रु. केजीको दरमा बिक्री हुन थालेको छ । प्याजको मूल्य विगतमा पनि प्रति केजी ९५ थियो अब प्याजको मूल्य ८० रु. प्रति केजी भएको छ । यस्तै नै स्थिति रही रहने हो भने आगामी समय लसुनको मूल्य १०० रु. प्रति केजी सम्म पुग्ने सम्भावना छ र प्याजको मूल्य यस्तै प्रकारले बढ्दै जाने हो भने १५० रु. सम्म पुग्ने छ । यसको कारण हो प्याज अधिकाँश रुपमा भारतबाट आउने गर्छ । यस वर्ष लसुनको पैदावार कम भएकोले लोकल लसुन देखिन छाडेको थियो लोकल लसुनको ठाउँमा चाइनिज लसुनले बजार लिएको थियो । पछिल्लो महिनाहरुमा लोकल लसुनको अभाव भएपछि यहाँ चाइनिज लसुनले ठाउँ ओगट्यो । यसबीचमा चाइनिज लसुनको अस्वाभाविक आयातले सबैलाई नै आश्चर्यमा पा¥यो एक जानकारी अनुसार चाइनाबाट अर्बाैं मूल्य बराबरको लसुन आयात भयो यस वर्ष ६ अर्ब १८ करोड रुपियाँ भन्दा बढीको लसुन नेपालमा चीनबाट भित्रियो । यसरी १ अर्ब ४३ लाख रु. भन्दा बढीको लसुन नेपालले चीनबाट आयात गरेको छ । नेपालमा लसुनको खेती कम भएकोले लसुनमा चीनमाथि निर्भरता भएको छ । चालु आव. २०८१।०८२ को श्रावण महिनादेखि पुस मसान्तसम्म ६ अर्ब १८ करोड ५४ लाख रु. बराबरको लसुन नेपालले आयात गरेको भन्सार विभागको तथ्यांकमा रहेको छ गत आ.व.को श्रावणदेखि पुससम्म पहिलो ६ महिनाको अवधिमा ८४ करोड ८८ लाख रु. बराबरको लसुन आयात भयो । यसरी तुलना गर्दा चालु आ.व. शुरु भएको ६ महिनामा ७ गुणा भन्दा बढी मूल्य बराबरको लसुन नेपालले आयात गरेको देखिन्छ । सो अवधिमा जम्मा ९ लाख २० हजार रु. बराबरको लसुन निर्यात भएको तथ्यांकले देखाउँछ । चीनबाट लसुन आयात गरेर अवैध रुपले भारत निर्यात भएको छ । यहाँका केही ठूला तरकारी कारोबारीहरुले चीनबाट आयात गरिएको भारी मात्रामा लसुन भारततर्फ अवैध रुपले पठाई लाखौं–लाखको कारोबार गरेको पाइन्छ । यस वर्ष पनि प्याज र लसुन दुवैको नै यहाँ ठूलो अभाव रहने सम्भावना रहेको देखी कालोबजारीयाहरुले लसुन र प्याज लुकाएर स्टोर गर्न थालेका छन् यस्तै स्थिति विद्यमान रह्यो भने आगामि समयमा उपभोक्तालाई महँगो मूल्यमा प्याज र लसुन किनमेल गर्ने बाध्यता हुनेछ । यसको कारण छ लसुन र प्याज दुवैको नै उत्पादन छिमेकी देश भारतमा घटेको छ । त्यहाँ अभाव बढेमा चीनको लसुन र प्याज पनि त्यतातर्फ तस्करी भै जाने अवस्था बन्न थाल्दछ। प्याज र लसुनको मूल्यमा किन वृद्धि भइ रहेको बारे नेगउमनपा वडा नं. ८ रानी तलाउ तरकारी मण्डीमा तरकारी पसल संचालन गरेका पप्पु तरकारी पसलका प्रो. निजामुद्दीन राई भन्ने टइँया राईसँग यस पत्रिकाले कुराकानी गर्दा उनले भने, ‘केही वर्षदेखि हाम्रो यहाँ लसुन र प्याजको उत्पादन कम भएको छ । प्याज पहिलेदेखि हालसम्म भारतबाट आयात गर्ने गरिएको थियो अहिले भारतमा लसुनको अभाव भएपछि यहाँका व्यापारीहरुले चीनमा उत्पादन भएको लसुन यहाँ ल्याई भारतको लखनऊ, बरेली, कानपुरसम्म पठाए । उनीहरुले भारत उत्तर प्रदेश, नानपारा तहसीलको महाराजगन्जसम्म पठाई भारी नाफा कमाए तर त्यहाँ अहिले चाइनिज लसुनबाट विभिन्न रोग फैली रहेको कुरा चर्चामा आएपछि लसुन त्यतातर्फ जान छाडेको छ । आगामी समय यहाँ प्याज र लसुनको मूल्य अप्रत्याशित रुपले वृद्धि हुने छ ।’
यस्तै प्रकार रानी तलाउ नजीक लसुन प्याजको पसल थपेका रमजान राई र नसीब राईले भने, ‘प्याज र लसुनको मूल्य बढ्दै गएपछि अधिकाँश व्यापारीहरुले अहिलेदेखि नै सो दुवै वस्तु स्टोर गर्न थालेका छन् । नेपालमा उत्पादन भएको लसुन पर्याप्त मात्रामा नआए उपभोक्ताहरुलाई महँगीको मार झेल्नु पर्नेछ । हामी सस्तोमा सामान पाए सस्तोमा र महँगो मूल्यमा पाए महँगो गरी बेच्नुपर्ने बाध्यता छ । अहिले प्याज र लसुनको उत्पादन बढाउन कृषकलाई प्रोत्साहित गर्न जरुरी रहेको छ ।’