– मनोज कुमार कौशल
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा यता केही महिनादेखि दुर्घटना निरन्तर रुपमा बढेको छ ।
शनिवार दिन बिहान शहीद सेतु बिकचोकको पश्चिम तर्फको बाटोमा दुर्घटना घटेको छ ।
मोटर साइकललाई ई–रिक्शाले ठक्कर दिँदा केहीलाई चोट पटक समेत लाग्यो । दुर्घटना घटेपछि सो सडक केही समयसम्म जाम रह्यो । पछि प्रहरीले मोटरसाइकल हटाई बाटो खुलाएको थियो ।
उमनपामा केही समयदेखि छाडा रुपमा ई–रिक्शा संचालनमा रहेको छ । नेपालगञ्ज उमनपा कार्यालयले ई–रिक्शा व्यवस्थापन कार्य चाँडै शुरु हुने भने पनि ई–रिक्शाको संख्या दिन दिनै थपिँदै गएको छ ।
ई–रिक्शाको कारण सर्वसाधारणलाई बाटोबाट हिँड्न अप्ठेरो परेको छ । उमनपाभित्र केही समयदेखि साइलेन्सर निकालिएको मोटरसाइकलले यहाँ ध्वनि प्रदूषण बढाएको छ । कन्डेन्सर सेट गराएर तिव्र विष्फोट गर्ने मोटरसाइकलको कारण समस्या बढेको छ । यस्ता मोटरसाइकलमाथि नियन्त्रण पाउने प्रयास सम्बन्धितले कहिँ कतै गरेको देखिँदैन । नगरको विभिन्न मुख्य भागहरुमा ट्राफिक प्रहरी परिचालित छ यी ट्राफिक प्रहरीले ड्राइभिंग लाइसेन्स र ब्लुबुक जाँच गर्ने बहानामा अवैध असुली कार्य जारी राखेका छन् । नगरको त्रिभुवनचोक, वीपी चोक, सुर्खेतरोड, ट्राफिक चोक, कारकाँदो, फुल्टेक्रा चोकमा साँझ पर्ने बित्तिकै ट्राफिक प्रहरी सवारी साधन चेकजाँच गर्न शुरु गर्छन् यस क्रममा उनीहरु अधिकांश रकम असुली गर्ने गरेका छन् । यस्ता ट्राफिक प्रहरी जवानमाथि कडा कारवाही गर्नुपर्ने जरुरी छ ।
कारकाँदो चोकदेखि कोहलपुर जाने सडकमा प्रहरीले बिच बाटोमा ड्रम राखेको छ जसको कारण त्यहाँ सडक दुर्घटना हुने जोखिम बढेको छ अहिले कुस्सु कुहिरो बढ्न थालेको छ सवारी चालकहरुले हुस्सु, कुहिरोका कारण अगाडिको बाटो देख्न नसक्दा सवारी दुर्घटना बढेको छ । यस कारण सम्बन्धितले सडकमा राखिएको ड्रम हटाउन पहल गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।