– मनोज कुमार कौशल
नेपालगञ्ज । दीपावली पर्व सम्पन्न भएको झण्डै १५ दिनपछि देव दीपावली मनाउने परम्परा वैदिक सनातन धर्ममा रहेको छ । यो देव दीपावली कार्तिक पूर्णिमाको अवसरमा मनाइएको हो ।
कार्तिक पूर्णिमा (कार्तिक स्नान) शुक्रवार दिन भएको छ ।
कार्तिक पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीहरु बिहानै पवित्र नदी तलाउ पोखरीमा पुगी स्नान गरेर गरीब गुरुवाहरुलाई दान दिइ पूजाआजा गरे ।
सिधनियाघाट राप्ती नदीमा पुगी वैदिक सनातन धर्मावलम्बीहरु कार्तिक पूर्णिमा स्नान गरे । धार्मिक मान्यता अनुसार यस दिन नदीमा स्नान गरे सम्पूर्ण पापबाट मुक्ति मिल्छ । कार्तिक पूर्णिमाको दिन सर्वसाधारणलाई स्नान गर्नको लागि नेगउमनपाका कैयन वडा समितिले श्रद्धालुहरुलाई राप्ती नदीसम्म लैजान निःशुल्क बस सेवाको सञ्चालन गरेका
थिए । यस्तो निःशुल्क बसबाट सैयौं श्रद्धालु त्यहाँ नदीमा पुगी स्नान गरी फर्केका थिए । यसमा कतिपय श्रद्धालुहरु मोटर साइकल, साइकल, ई–रिक्शा जस्ता सवारी साधनबाट राप्ती नदीमा पुगी स्नान गरे । राप्ती नदीमा श्रद्धालुहरुको घुइँचोले गर्दा त्यहाँ मेला जस्तो दृश्य बन्यो । शुक्रवार दिन नै बाँकेको जोगागाउँ र गुरुवागाउँमा मेला दशकौंदेखि आयोजन हुँदै आएको छ । अधिकांश नेपालगञ्ज उमनपामा बसोबास गर्नेहरु जोगागाउँको मेला अवलोकन गर्न जाने गरेका छन् भने ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरु गुरुवागाउँको मेला अवलोकन गर्न रुचाउँछन् ।
कार्तिक महिनामा पर्ने कार्तिक पूर्णिमादेखि विभिन्न ठाउँमा मेलाको आयोजन हुन शुरु हुन्छ ।
मंसिर २ गतेदेखि नेगउमनपा रामनगरमा स्थापित रहेको प्राचीन श्रीश्रीश्री १००८ हडिया बाबाको वार्षिक पुण्यतिथिको अवसरमा मेलाको आयोजन हुने भएको छ । यस पटक परम पुज्य योगीराज हडिया बाबाको ५९औं मेलाको आयोजन हुने भएकोले हडिया बाबा आश्रममा टाढा–टाढाबाट साधु सन्त र श्रद्धालु मेलाको अवलोकन गर्न पुग्न शुरु गरेका छन् । आश्रममा प्रत्येक वर्ष मेलाको आयोजन भई त्यहाँ विभिन्न धार्मिक कार्यक्रम हुने गर्छ । यस कार्यक्रम अन्तर्गत मंसिर २ गते रुद्री पूजा, ३ गते श्रीकृष्ण जन्म, ४ गते कालियानाग नाथने, ५ गते सुदामा चरित्र, ६ गते मिरा चरित्र नाटकको प्रस्तुति हुने छ । मंसिर ७ गते धनुष यज्ञ गरी मेलाको समापन हुनेछ । मंसिर ४ गते मंगलवार दिन हडियाबाबाको भव्य शोभायात्रा नगर परिक्रमा गरी कार्यक्रम स्थल हडियाबाबा आश्रममा पुग्ने कार्यक्रम रहेको छ ।