– मनोज कुमार कौशल
नेपालगञ्ज । यस वर्ष बडादशैंमा नयाँ नेपाली रुपियाँ आएन तर अब छिट्टै नै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नेपालको नक्शा छापिएको एक सय मूल्यको नेपाली रुपियाँ देशभरि आउने भएको छ ।
यसको लागि नेपाल सरकार र रुपियाँ छाप्ने चीनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिंग एण्ड मिन्टिंग कर्पाेरेशनसँग सम्झौता भई रहेको छ । एक सय मूल्यको नेपाली रुपियाँ ३० करोड बराबर मूल्यको चीनियाँ कम्पनीले छापेर दिनेछ ।
रुपियाँ छापाईको लागि नेपालले चीनको सो रुपियाँ छाप्ने कर्पाेरेशनलाई ९० लाख डलर अर्थात १२० करोड नेपाली रु. छपाइ गरे वापत दिनेछ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता जस्तो नेपालको भूमि अहिले छिमेकी देश भारतको कब्जामा रहेको छ ।
नेपालले सन् २०२० देखि सो भूमि आफ्नो रहेको दावी गर्दै भारतसँग सो भूमि खाली गर्न दबाव दिँदै आएको छ तर भारतले नेपालको दावीलाई अनदेखा गर्दै आएकोले सो भूमि वर्तमान समय अत्यन्त नै विवादित बन्न पुगेको छ ।
विगत समय नेपालले सो भूमि समेटी चुच्चे नक्शा निकाल्दा भारतले यसप्रति कडा प्रतिक्रियाँ दिँदै सो भूमि भारतको उत्तराखण्डमा रहेको पिथौरागढ जिल्लासँग सम्बन्धित रहेको भन्दै भारतले कसैको एक इन्च जमीन न त लिनेछु न त एक इन्च जमीन दिनेछु भनेपछि यो जमीनको कारण दुवै देशबीच भारी मतभिन्नता भएको थियो ।
अहिले सो जमीन अंकित नेपालको चुच्चे नक्शा नेपाली १०० मूल्यको रुपियाँ चलन चल्तीमा आए पनि पछि यो रुपियाँ भारतको सीमावर्ती भारतीय बजारमा चलाउन गाह्रो हुने सम्भावना छ । किनकी सीमावर्ती भारतीय बजारमा नेपालीहरुले विभिन्न मालसामान किनमेल गर्दा त्यहाँ अहिलेसम्म छापिएको सबै नेपाली रुपियाँ सहजै ढंगले भारतीय व्यापारीले लिने गरेका छन् तर विवादिन नक्शा छापिएको नेपाली रुपियाँ भारतले आफ्नो बजारमा नचल्न दिइने अवस्था रहेकोले सो नेपाली रुपियाँ सर्वसाधारणले लिँदा उकुस मुकुसमा पुग्ने स्थिति रहेको
छ ।