नेपालगञ्ज । पितृलाई तर्पणदान, बैकुण्ठधामलाई अर्पण भन्ने अवधारणाका साथ सदस्यता अभियान शुरु गरिँदै आगामि कार्तिक २२ गतेदेखि ३० गतेसम्मका लागि नेपालगञ्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजन हुने भएको छ ।
यस वर्ष सोह्र श्राद्ध अर्थात पितृपक्ष बुधवारदेखि शुरु भएको छ ।
पितृहरुलाई पिण्डदान दिन र श्राद्ध गर्न बैकुण्ठधाम सिधनियाघाट निर्माण कार्यको लागि भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ डा. बद्री चापागाईले राप्ती नदीको सिधनियाबाटमा निर्माण हुने बैकुण्ठधाम परियोजनाका लागि ५ लाख ५५ हजार ५ सय ५५ रु. दान गरेका छन् ।
उक्त रकम बैकुण्ठधाम आध्यात्मिक महोत्सवको संयोजक डा. सुरेश कनोडियाले ग्रहण गरेका छन् ।
डा. चापागाईले आफ्ना हजुरबुवा स्व. हिरालाल चापागाईको स्मृतिमा उक्त रकम बाँकेको राप्ती नदी किनारमा निर्माण हुने बैकुण्ठधाम सिधनियाघाट परियोजनालाई प्रदान गरेका छन् ।
सहयोग संकलनकै लागि आगामि कार्तिक २२ देखि ३० गतेसम्म आध्यात्मिक महोत्सवको आयोजन गर्न थालिएको हो ।
बाँकेको डुडुवा–५ राप्तीनदी तटमा व्यवस्थित रुपमा श्राद्ध संस्कार स्थल निर्माणका लागि बैकुण्ठधाम सिधनियाघाट निर्माण अभियान चलाइएको छ । यहाँ वैदिक धर्मावलम्बीहरुको निधनपछि दाहसंस्कारलाई व्यवस्थित गर्न यो अभियान चलाइएको हो ।
नेपालगञ्जमा आयोजित हुने बैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजनमा कथावाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलबाट हुने भएको छ ।
उनीको अगुर्वाइमा आध्यात्मिक महोत्सवमा धार्मिक तथा आध्यात्मिक प्रवचन हुने कुरा जानकारीमा आएको छ ।
राप्ती नदी सिधनियाघाट क्षेत्रलाई आध्यात्मिक पर्यटनको मुख्य थलोको रुपमा विकास गर्न यहाँ कार्य शुरु भएको छ ।
कार्तिक २२ गतेदेखि ३० गतेसम्मका लागि आयोजन हुने बैकुण्ठधाम महोत्सवलाई सफल बनाउन मूल समिति र तमाम उपसमितिहरुलाई सक्रिय पारिएको छ ।