मुलुकमा सरकार खसाउने र सरकार बनाउने खेल विगत दशकौंदेखि चल्दै आएको छ । २०६२।०६३ को जनआन्दोलन भाग २ बाट बनेको विभिन्न सरकार यस्तै प्रकारले खसाउने बनाउने खेल चल्दै आएको छ जसको कारण मुलुक विकासको सट्टा पतनतर्फ बढ्दै गएको छ । जो पनि सरकार बने त्यसले नेपाली जनताको इच्छा आकाँक्षा अनुसार कार्य गरेर देखाउन सकेन जसको कारण जनतामा वर्तमान व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको छ । आफ्नो स्वार्थको लागि सरकारलाई खसाउने र आफ्नो स्वार्थको लागि सरकार बनाउने खेलले गर्दा मुलुकको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । २०६२।०६३ को जनआन्दोलनमा यी राजनीतिक दलले निरंकुशताको अन्त हुने, सबैलाई बराबरीको हक दिइने, देशको चहुमुखी विकास हुने नारा दिएका थिए यी काम आजसम्म हुन सकेको छैन आफ्नो स्वार्थको लागि पालैपालो सरकार बनाउँदै राजनीतिक दलका नेता दिनदिनै धनी र जनता दिनदिनै गरीब बन्दै गएका छन् । अहिले हदै नै भएको छ । वर्तमान सरकार कच्छप गतिले कार्य गरी रहेको थियो अहिले नेपाली काँग्रेस र नेकपा एमालेले नयाँ सरकार बनाउने सहमति
गरेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्प मतमा पुगेको छ । सहमति अनुसार नेकपा एमालेबाट पुनः एक पटक केपी शर्मा ओली प्रधानमन्त्री बने छन् र ६ महिनापछि नेपाली काँग्रेसबाट शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने अनुमान रहेको छ । केपी शर्मा ओली र शेर बहादुर देउवा कुनै नौलो अनुहार होइनन् शेर बहादुर देउवा यसअघि कैयन पटक प्रधानमन्त्री बनी सकेका छन् । त्यस्तै नै नेकपा एमालेबाट केपी शर्मा ओली विगतमा प्रधानमन्त्री बनेकै हुन् । आफ्नो कार्यकालमा यिनी दुवैले के कति कामहरु गरे सबैलाई नै जानकारी रहेको कुरा हो । शेर बहादुर देउवा दिनमा नै ¥याल काढी विश्व समुदायमा आलोचित बनेका थिए त्यस्तै केपी शर्मा ओलीले सस्तो लोकप्रियता पाउन चुच्चे नेपालको नक्शा राखी आफूलाई ३० मार खाँ देखाउने काम मात्र गरे अहिले चुच्चे नक्सा अनुसारको त्यो भूभाग आज पनि भारतको अधिनमा छ । यसरी यी दुवै नै देशको लागि बेकाम साबित भएको पाइन्छ । प्रम पुष्प कमल दाहाल नेतृत्वको सरकारले पनि कुनै खासै काम गरी देखाउन सकेन यो चाहिँ यथार्थ कुरा हो । अहिले नेपाली जनता पुन एक पटक नयाँ सरकार केही दिनभित्रै देख्न पाउने छन् यसबाट के फाइदा कागलाई बेल पाक्यो हर्ष न विश्मात । जनता पहिले देखि नै कंगाल अवस्थामा छन् नयाँ सरकारले पनि जनताको अवस्था सुधार्न सक्दैन यो चाहिँ निश्चित छ । आफ्नो सरकार अल्पमतमा परेपछि प्रम पुष्प कमल दाहाल प्रचण्ड समस्यामा परेका छन् आफ्नो सरकारलाई बचाउन उनी भरमग्दूर प्रयासमा लागेका छन् । संसदमा बहुमत पाउन १८४ मतको आवश्यकता छ । २८ गते दिन प्रधानमन्त्री दाहाल बहुमत पाउन केही राजनीतिक दलका सांसदलाई खरीद गर्ने सम्भावना छ । यसबाट केही सांसद मालामाल बन्ने छन् । यसबाट जनतालाई के फाइदा मिल्ने हो त ? सरकार खसाउने र बनाउने खेल भाडभैलो जस्तो मात्र हो यसबाट मुलुकलाई कुनै फाइदा मिल्नेवाला छैन । राजनीतिक दलको लागि यस्तो खेल व्यापारिक जस्तो छ भेडा बाख्रा जस्तो सांसद खरीद बिक्री हुनेछन् जसबाट देश अझ कंगाल बन्नेछ । त्यसो पनि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा जनता गरीब नै भएका छन् अहिले अरु गरीब बन्नेछन् त्यसो पनि देशमा विगतमा सञ्चालित रहेको विभिन्न उद्योग कल कारखाना बन्द भई सकेका छन् । व्यापार व्यवसाय चौपट अवस्थामा रहेकोले व्यापारी वर्ग आत्महत्या गरी रहेका छन् । अब त व्यापारी बीमाको थोरै रकम पाउन आफ्नो पसलमा आफै नै आगो लगाई रहेका छन् । देशका युवा शक्ति रोजगार पाउन विदेशतर्फ पलायन गरी रहेका छन् त्यहाँ उनी सस्तोमा श्रम बेच्न बाध्य छन् । यता दिनहुँ विदेशी शरणार्थीको रुपमा विदेशी घुसपैठिया देशमा पसी रहेका छन् यस्तै स्थिति अझै केही दिनसम्म रही रहने हो भने विदेशी यस देशमाथि कब्जा गर्ने छन् । त्यसो पनि देशमा सरकार नामको केही पनि छैन जुन पनि सरकार आए विदेशीको इशारामा चल्छ । अब यो देशलाई बचाउने कुनै शक्ति रहेन । अहिले पनि समय छ यसको अवस्था सुधार्न नेपाली जनता जाग्नु पर्छ । राजनीति दल देशलाई लुट्न पालैपालो सरकार चलाउने खेल खेल्दै छन् । यस कारण अब सरकार परिवर्तन होइन बरु व्यवस्था परिवर्तनतर्फ लाग्नुपर्ने बेश छ ।