नेपालगञ्ज । महिला अधिकार मञ्च बाँके शाखाले प्रहरीका जिम्मेवार पदाधिकारीबाट आम नागरिकको मानव अधिकारसँग खेलवाड भइ रहेको आरोप लगाएको छ ।
बिहीवार दिन महिला अधिकार मञ्च बाँके शाखाले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रहरीको ज्यादतीका विरुद्धमा ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदै बिहीवार दिनदेखि जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की र अनुसन्धान अधिकृतका विरुद्धमा प्रत्येक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म २ घण्टाका लागि ७ दिनसम्म बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन रिले अनशन शुरु गरेको छ ।
मञ्चले २०८१ जेठ २३ गते ५ बजेभित्र प्रहरी प्रमुख कार्की र अनुसन्धान अधिकृतले आफ्नो कमी कमजोरी नसच्याए आफ्नो जायज मागहरु पूरा गराउन मिति २०८१ जेठ २३ साँझ ५ बजेबाट आमरण अनशन सहितको कडा आन्दोलन चलाउने चेतावनी दिएको छ ।
मञ्चले प्रहरीका उच्च अधिकारीहरुमाथि आरोप लगाउँदै भनेको छ कि प्रहरीले हत्या जस्तो गम्भीर घटनामा पनि राजनीतिक दबाव र प्रभावमा परी वास्तविक दोषीहरुलाई पत्ता लगाउने प्रयास गरेको छैन उल्टै अनुसन्धानको दायरा साँघुरो बनाई दोषीलाई उम्किने मौका दिएको र निर्दाेषलाई फसाउने कार्य शुरु गरेकोले यसबाट गरीब, मजदूर र एकल महिला परिवार त्रसित बनेका छन् ।
यसै घटनालाई अघि सार्दै सञ्जालले ध्यानाकर्षण पत्र मार्फत जनाएको छ कि अनुसन्धानका लागि घटना घटेको दिनदेखि प्रहरीले त्यस्ता वर्गका निर्दाेष व्यक्तिहरुलाई फसाउन विभिन्न प्रकारको जालझेल गरेको पाइन्छ । करीब २०–२२ दिन भई सक्यो हालसम्म लगातार बिहान ८–९ बजेदेखि साँझ ८–१० बजेसम्म अनुसन्धानका लागि एक जना तेली समुदायकी एकल महिलालाई अनुसन्धान गर्ने आडमा विभिन्न प्रकारको यातना, डर, त्रास, धाक धम्की र कुटपिट गर्दै दिनभरी नै उभ्याई दिने, बस्न नदिने कार्य गरी मानव अधिकारको हनन गर्ने कार्य दोहोरिने गरेको छ । प्रहरीको यस्तो बर्बतापूर्ण कार्यले गर्दा सो एकल वर्गकी महिला उपचार गराउन अस्पतालमा भर्ना हुन पुगेकी छिन् । यस्तो घटना बाँके जिल्लामा अनगिनत घटित भएका छन् । विगत वर्षमा निर्मला कुर्मीको हत्या भएको थियो सो हत्या घटनाको केस सिआईबीको उच्च टोलीले २६ पौष २०८० मै जिल्ला प्रहरी कार्यालयमा प्रतिवेदन आयो तर हालसम्म पनि सो हत्या घटनाको केस अदालतमा पु¥याइएको छैन ।
मञ्चले यस्तै प्रकारको एक अन्य घटना ध्यानाकर्षण पत्रमार्फत जानकारी गराउँदै भनेको छ कि सुमदरानी थारुको बलात्कार गरि हत्या भएको घटना करिब वर्ष दिन व्यतीत हुन थाल्यो अहिलेसम्म सो घटना घटाउने दोषी पक्राउ पर्न सकेका छैनन् । त्यस्तै ५ वर्षीया बालिकामाथि खुकुरी प्रहार गरी घाइते पारियो यस घटनाको दोषी पनि अहिले सम्म पक्राउ परेका छैनन् ।
त्यस्तै बिर्ता गाउँका पूर्व वडाध्यक्षका नातीको हत्यामा संलग्न दोषीहरुको आजसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । सोही प्रकारले प्रहरीले जानकी गाउँपालिका वडा नं. २ बकोटिया फुलपुर्वा र दमादनपुर्वाको बीचमा भएका व्यक्तिको हत्यामा वास्तविक दोषीको हो यो पत्ता लगाउन सकेको छैन । यस्ता अपराधहरुमा निकै नै बढोत्तरी भएको छ यस कारण सत्य सेवा सुरक्षणमको खोक्रो नारा लगाई आफ्नो कर्तव्य मार्ग बिर्सेका यस्ता प्रहरी पदाधिकारीको यस्तो गैर जिम्मेवारीपूर्ण कार्यप्रति हाम्रो घोर आपत्ति रहेको छ । प्रहरीले आफ्नो हैकमवादी व्यवहार नसुधारेसम्म हाम्रो संघर्ष जारी रहने बताइएको छ ।