सामना । देशको माया नभएर होइन, मुलुकको अवस्था बिग्रिएर अवसर नपाएपछि देशको युवा शक्ति विदेशिन बाध्य भएका छन्, उक्त कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका हुन् ।
पूर्वराजा शाहले देशमा बेरोजगारी, गरिबी, शैक्षिक कमजोरीका कारण युवा विदेश जानुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले देशको विकास र समृद्धिका लागि एकै ठाउँमा उभिन पनि सबैलाई आव्हान गरे । बिहीबार भैरहवामा आफ्नो नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले सम्पदा र स्रोतको ठूलो धनी देश भएर पनि नेपालीले दुःख पाइरहेको बताए ।
‘देशमा बेरोजगारी, गरिबी, शैक्षिक कमजोरीका कारण लाखौं युवा विदेश जानुपरेको छ,’ उनले भने, ‘देशको माया नभएर होइन, मुलुकको अवस्था बिग्रिएर अवसर नपाएपछि विदेशिन बाध्य भएका हुन् ।’ आफू मात्र सही, आफू हिँडेको बाटो मात्र ठीक भन्न छाड्नुपर्ने उनले बताए ।
‘विगतलाई बिर्सिदिऔं, घृणाको आगोलाई निभाएर मुलुकको विकास र समृद्धिका लागि सबै एकै ठाउँमा उभिऔं,’ उनले आह्वान गर्दै भने, ‘नेपालमा कस्तो विधि ल्याउने, कसरी अगाडि बढ्ने भन्नेबारेमा मार्गचित्र हामी नेपाली आफैंले तय गर्ने कुरा हो ।’ देशमै उत्पादन उद्यम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने बेला आएको उनको भनाइ छ ।
पूर्व राजाको भैरहवावासी जनताले भव्य रुपमा स्वागत गरेका छन् । पूर्व राजाले सम्बोधन गर्दा उपस्थित जनसमुदायले हिन्दु राष्ट्र र हिन्दु राजाको पक्षमा चर्काे नारा लगाएका थिए ।