मनोज कुमार कौशल
नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनको लागि दुई प्यानलबीच जोरआजमाइस जारी रहेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह तर्फबाट ललित कुमार रौनियार र समावेशी प्यानल तर्फबाट टंकबहादुर धामीको अध्यक्ष पदमा दावेदारी रहेको छ । जति–जति निर्वाचनको मिति भदौ २ गते नजिकिँदै गएको छ त्यति–त्यति दुवै प्यानलको चुनावी प्रचार प्रसारले पनि गति लिएको छ ।
अहिलेसम्म रौनियार र धामीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यसबीच संघका मतदाता नै उकुस–मुकुसको स्थितिमा रहेको देखिन्छन् । यो यस कारण कि कुन प्यानललाई आफ्नो मत दिए आफ्नो भलो हुने हो ।
केही वर्षदेखि संघको गतिविधि शून्य स्थिति अवस्थामा रहेको देखिन्छ जसको कारण यहाँका उद्योगी व्यवसायीहरुको उद्योग व्यापार धरासाई बन्न पुगेको देखिन्छ । कोरोनाकालमा नेपालगञ्जको व्यापार व्यवसाय चौपट बन्यो । कोरोनाको समाप्तिपछि सबैले आ–आफ्नो स्थिति सुधार हुने अपेक्षा लिएका थिए तर स्थिति झन खराब भयो । सरकारको भन्सार राजस्वको अव्यवहारिक नीति र नेपाल राष्ट्र बैंकको अदूरदर्शी नीतिको कारण उद्योगी व्यापारीहरुको ढाडै सेकिएको छ । केही महिनादेखि आर्थिक मन्दी छ जसको कारण तमाम व्यापारीको पसल बन्द हुँदै उनी आ–आफ्नो पसल शटरहरु नै बन्द गरी सकेका छन् । यस समयमा उनीको समस्याका समाधानका लागि संघबाट आवश्यक पहल हुनुपथ्र्याे तर उनीको पीरमर्का बुझ्न न त संघका कुनै पदाधिकारी पुगे न त कुनै व्यापारी नेता नै । अहिले नयाँ नेतृत्वको लागि चुनाव चल्दा रंग फेर्नमा माहिर छेपाराहरु भोट पाउन संघका मतदाताको घर–घरमा पुगी भोट माग्न शुरु गरेका छन् । उनीको भनाईहरु सुन्दा लाग्छ कि अब त्यो दिन टाढा छैन जब समस्याहरुको निराकरण गर्न थोरै पनि समय लाग्दैन । दुवै प्यानलमा यस्ता उम्मेदवारहरु छन् जुनकि गन्हाएका अनुहार हुन् । वास्तविक रुपमा देख्ने हो भने यस्ताहरुको पेशा नै राजनीति गर्नु मात्र हो । विगत समय उनी राजनीतिक पदमा रहँदा कसरी सार्वजनिक सम्पत्तिलाई हिनामिना गराएर पवित्र स्थलमा शौचालय निर्माण गराउँदै सो सार्वजनिक स्थलको जग्गा बिक्री गराएर भू–माफियाहरुसँग जग्गा बिक्री गराई प्लटिंग गराई आफ्नो दुनो सोझ्याए । यस्तै कुकार्यले गर्दा उनी डराएर स्थानीय निर्वाचनमा भाग लिएनन् र अहिले संघको निर्वाचनमा लिइ रहेका छन् । यस्ता मौकापरस्तहरुबाट संघका मतदाता जाति धर्म नदेखेर पाखा लगउनु जरुरी छ । किनकी यिनी कुनै ठाउँमा सेवा गर्न पुग्दैनन् बरु मेवा खाना सधैं पुग्ने गरेका छन् । अहिले यस्ताहरु आफ्नो उम्मेदवारी हुँदा तहल्का नै मच्चेको कुरा चुनावी प्रचार प्रसारमा ल्याई रहेका छन् जुनकि अत्यन्त हास्यास्पद कुरा हो । यस चुनावमा दुवै प्यानलको चुनावी प्रचारमा भारी त्रुटिहरु देखिन शुरु भएको छ । अहिले दुवै प्यानलका केही उम्मेदवारहरु आफ्नो सम्पूर्ण प्यानललाई विजयी गराउनेखालको प्रचार प्रसार गरेको देखिँदैन उनीमा कतिपयहरु सिंगल–सिंगल रुपमा आ–आफ्नो प्रचार प्रसार गरी रहेको देखिन्छन् । यसबाट प्रष्ट हुन्छ उनी आफ्नो प्यानलप्रति इमान्दार छैनन् बरु कुनै प्रकारले आफ्नो जीत होस् यस्तो चाहना चाहिँ राखेका छन् । अध्यक्ष विजयी होस् न होस् यसको मतलब उनीलाई छैन । जोसँग बढी पैसा छ त्यो उम्मेदवार मिडियालाई आफ्नो पक्षमा राखेर रकमको जोरमा आफ्नो प्रचार प्रसार गराई रहेको छ । केहीहरु यस्ता पनि छन् जुन कि सोसल मिडियाको प्रयोग गरेर आफ्नो सिंगल प्रचार प्रसार गरी रहेका छन् । यसबाट के बुझिन्छ भने यो निर्वाचनबाट पनि उद्योगी व्यापारीहरुलार्ई कुनै राहत मिल्ने छैन । अध्यक्ष पदको उम्मेदवारको छुट्टै आलाप छ । उनीको विभिन्न पदका उम्मेदवारको छुट्टै आलाप छ । प्यानलको आफ्नो स्पष्ट धारणा छैन । यसरी आगामी समय ‘जो जोगी आए कानै चिरेको’ उक्ति चरितार्थ हुने अवश्यम्भावी छ । नेपालगञ्जका उद्योगी व्यापारीहरुको मुख्य समस्या भन्सार राजस्व असुलीमा व्यापारीलाई राहत दिलाउनु, भारततर्फबाट हुने ठूलो तस्करी कार्य रोकाउनु, राजस्व कार्यालयबाट हुने रोजिन्दाको छापामारीमाथि रोक लगाउनु, नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति सुधार्न दबाव दिनु, सुक्दै गइ रहेको नेपालगञ्जको बजारको स्थिति सुधार्नु, बडादशैंमा सस्तो मूल्यमा विभिन्न सरसमान उपभोक्तालाई उलब्ध गराउनु, सीमापारीको रुपैडिहा बजारबाट स्वस्थ रुपमा व्यपारिक प्रतिस्पर्धा गर्न सबैलाई प्रेरित गर्नु, नेपालगञ्जमा केही सामानहरु रुपैडिहा भन्दा सस्तो मूल्यमा बिक्री हुन्छ यहीं सस्तो मूल्यमा खरीद गर्न सकिने उपभोक्ताहरुलाई जानकारी गराउनु, एकै सामान विभिन्न स्थानमा फरक फरक मूल्यमा बिक्री गर्न रोकन लगाउँदै सरसमानको मूल्यमा एकरुपता ल्याउनु, कालोबजारी गर्ने व्यापारीको मनोबल निरुत्साहित पार्न जरुरी रहेको देखिन्छ । तर यस्तो कार्य गरेर देखाउने वाचा कुनै पनि प्यानलले गरेको देखिँदैन । यस कारण संघका मतदाताहरु आफ्नो मतदान गर्दा ध्यान दिनुपर्ने कुरा के छ भने विगतमा कुन व्यक्ति कहाँ थिए उनीले उद्योगी व्यापारीको हितमा आफ्नो तर्फबाट कति आवाज उठाए, विगतमा उनीले गरेको अनैतिक क्रियाकलापहरुमाथि ध्यान दिनुपर्न आवश्यक छ । यस्तै नै संघका कुन व्यक्तिले भारतबाट एक सय मूल्यको सरसामान लिएर आएको छ त्यसलाई भन्सारमा लाइन लाएर बेइज्जत गर्ने र जबरजस्ती एक सय मूल्यमा भन्सार राजस्व तिराउने माग उठएको थियो ति व्यक्तिको अहिले कुन प्यानलतर्फ समर्थन छ यो जानकारी गरी त्यस प्यानलको विपरीत तर्फ मतदान गर्नु जरुरी छ । अरुलाई सानो रकमको भन्सार तिराउने अनि आफ्नो व्यापारिक सरसामान ठूलो परिमाणमा तस्करीबाट मगाउने व्यापारी नेताको मनोबल यही मतदानबाट निरुत्साहित गर्न सक्नु पर्छ । अहिले दुवै प्यानलको चुनावी प्रचार प्रसार चरममा छ यस समय मतदाताले संयमताकोसाथ हेर, पर्ख अनि निर्णय दिने बेला आएको छ ।