नेपालगञ्ज÷भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा परी बाँकेको नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ ।
भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सीताद्वार सडकमा शनिवार राति नीलगाईसँग ठोक्किँदा सो कार रुखमा ठोक्किएर दुर्घटना भएको बताइन्छ । पछि सो कार पानीमा खसेकोमा अधिकांशको मृत्यु पानीमा डुबेर भएको बताइन्छ । दुर्घटनामा परी नेपालगञ्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता तथा नेपालगञ्जको त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको पनि उपचारको क्रममा मृत्यु भएको छ । मृतकहरुको शनिवार दिन राती पोष्टमार्टमपछि शव परिवारको जिम्मामा लगाइएको थियो । प्रतिष्ठित व्यापारी गुप्ताको परिवार कार दुर्घटनामा मृत्यु भएको खबरपछि त्रिभुवनचोकमा राती अबेरसम्म स्थानीयहरुको भीडभाड रहेको थियो ।