होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।