नेपालगञ्ज । औषधिको सेवनबाट पीडित बनेकी महेन्द्र उमाविमा अध्ययनरत १२ वर्षीया छात्रा सौभाग्यश्री गुप्ताको स्वास्थ्य स्थिति झन–झनै जटिल बन्दै गएको छ । फागुन १२ गतेका दिन महेन्द्र उमाविमा पुगी वडा नं. ७ मा संचालित रहेको स्वास्थ्य जाँच चौकीका स्वयंसेविकाहरुले छात्राका अभिभावकसँग कुनै प्रकारको स्वीकृति नलिई जबरजस्ती हात्तीपाइले रोगविरुद्धको औषधि अलबेण्डाजोल, डाइइथाइल कार्बामाजिन सहित ९ वटा ट्याब्लेट अभिभावकसँग कुनै किसिमको स्वीकृति नलिई खुवाएपछि सो छात्रालाई रिंगटा लाग्ने, उच्च ज्वरोले सताउने घाँटी सुन्निने र पटक पटक बान्ता लाग्ने समस्याले सतायो । स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि पहिले छात्राका आमा बुवाले डा. प्रकाश नागसँग स्वास्थ्य जाँच गराए, स्थिति नाजुक बन्दै गएपछि छात्रा गुप्तालाई नेपालगञ्ज मेकिल कलेज टिचिंग हस्पिटल नर्सिंग होमको १७६ नं. बेडमा भर्ना गराई उपचार गराइँदैछ ।
अहिले घाँटी सुन्निएको र ज्वरो केही नियन्त्रणमा आएपनि बान्ता पटक पटक हुने भइ रहेको छ । छात्राको उपचार गर्ने डा. रोमा वोराले यो सम्बन्धमा बच्चाका आमा बुवालाई जानकारी गराउँदै हामी स्वास्थ्य स्थिति नियन्त्रण गर्ने प्रयासमा लागेका छौं हात्तीपाइले औषधिको प्रभाव कम भएपछि स्वास्थ्यमा सुधार हुनेछ, यसमा आत्तिनु पर्दैन यसको लागि २–४ दिनको समय अझ लाग्नेछ भनिन् ।