काठमाडौँ- भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ। डेढ महिनाअघि हृदयाघातका कारण उनलाई भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना गरिएको थियो। अगस्ट १० यता भेन्टिलेटरमा रहेका उनको आज (बुधबार) बिहान मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् १९६३ मा उत्तर प्रदेशको कानपुरमा जन्मिएका राजुको वास्तविक नाम सत्यप्रकाश श्रीवास्तव हो। मुम्बई आएपछि उनले आफ्नो नाम परिवर्तन गरेर राजु राखेका थिए। उनी सानैदेखि मान्छेहरूलाई हँसाउने गर्थे। त्यसमै करियर बनाउने उद्देश्यले उनी सन् १९८८ मा मुम्बई पुगे। जहाँ उनले वर्षौं संघर्ष गरे।
अटोमा सुनाउँथे 'जोक्स'
संघर्ष गर्दाताका उनले मुम्बईमा अटो चलाउने गर्थे। एकपटक भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदा उनले भनेका थिए, ‘त्यतिखेर अरू हास्यकलाकारलाई खासै वास्ता गरिँदैनथ्यो, कुरा जोनी वाकरबाट सुरु भएर जोनी लिभरमा सकिन्थ्यो। हामीलाई कामै पाइँदैन्थ्यो।’
काम नहुँदा पैसाका अभाव झेलिरहेका उनले जीवनयापनका लागि अटो चलाउन थाले। अटोमा बस्नेहरूलाई पनि उनी चुट्किला सुनाउँथे। मान्छेहरू खुसी हुन्थे। अटोको भाडासँगै राजुलाई ‘टिप’ पनि दिन्थे।
कमेडीमा काम सुरु गर्दा उनले एक सोमा ५० भारुसम्म पाउँथे। पैसाका लागि मान्छेहरूको जन्मदिनको पार्टीमा समेत उनी कमेडी गर्ने गर्थे।
पहिचान दिलाउने ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’
अटो ड्राइभर हुँदाताकै उनको जीवनमा नयाँ मोड आयो। उनले कमेडी सोमा भाग लिए। त्यसपछि राजुले पछाडि फर्केर हेर्नु परेन। ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ कमेडी सोले उनलाई पहिचान दिलायो। सोमा उनको ‘गजोधर भइया’को भूमिका सबैलाई मन पर्यो। उनी लोकप्रिय भए। त्यसपछि उनी ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज च्याम्पियन्स’मा सहभागी भए। जसमा उनले ‘द किङ अफ कमेडी’का उपाधि जिते।
राजुले ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘आमदानी अठन्नी खर्चा रुपैयाँ’, ‘बम्बे टू गोवा’ लगायत हिन्दी फिल्मका काम गरेका छन्।
त्यसबाहेक उनले ‘शक्तिमान’, ‘बिग बोस’, ‘कमेडीका महामुकाबला’, ‘कमेडी सर्कस’, ‘कमेडी नाइट्स विद् कपिल’, ‘द कपिल शर्मा सो’लगायत टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन्।
कमेडी हुँदै राजनीति
कमेडीमा सफल भएका राजुले पछि राजनीतिमा चासो देखाएका थिए। उनले समाजवादी पार्टीबाट राजनीति करियरको सुरुवात गरेका थिए।
सन् २०१४ मा लोकसभा चुनावमा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले उनलाई कानपुर लोकसभा सिटबाट राजनीतिक मैदानमा उतारेका थिए। तर पार्टीबाट पर्याप्त समर्थन नपाएकाले राजुले सो टिकट फिर्ता गरे। त्यसपछि उनी भारतीय जनता पार्टीसँग जोडिए। उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष थिए।