तस्करी कार्य नियन्त्रण गर्नुपर्ने जरुरी ।
Monday, August 01, 2022
0
वैदिक सनातनी धर्मावलम्बीहरुको विभिन्न चाडपर्व जति-जति नजिकिँदै गइरहेको छ त्यति-त्यति नै अहिले तस्करी कार्य बढेको छ केही महिनापछि वैदिक सनातनी धर्मकी नारीले आफ्नो अखण्ड सौभाग्यको लागि मनाउने गरेको हरितालिका तीज व्रत, त्यस्तै बडादशैं र सो पछि दीपावली पर्व आउने भएको छ । यस समय यहाँ विभिन्न सरसामानहरुको खपत एक्कासी बढ्ने गर्छ । यहाँका पसलेहरु यस समय २-३ महिना अगावैदेखि भारतबाट मालसामान खरीद गरी ल्याउन शुरु गर्छन् यसमा थोरै मालसामानको मात्र भंसार राजस्व कटाई ल्याइन्छ बढी भन्दा बढी मालसामान तस्करी गरी भित्र्याउने गरिन्छ । यसबाट ठूलो राजस्वको घाटा हुने गर्छ । अहिले नेगउमनपा भित्र विशेषकर महँगो मूल्यका कपडाहरु, भाडाकुडा आदि तस्करीको बाटोबाट भित्रि रहेको देखिन्छ । यस्तो तस्करी कार्य भंसार र प्रहरीको मिलेमतोमा भई रहेको छ । नेपालगञ्जका कपडा व्यापारी हजारौं हजार मूल्य बराबरको महँगो साडी खरीद गरेर ल्याउने गर्छन् तर भंसार कर्मचारीको मिलेमतोमा सो सारीहरु लुंगीमा मूल्यांकन गरी भंसार राजस्व असुली गरिन्छ नेगउमनपाको रानीतलाउ परिक्षेत्र अहिले तस्करको लागि स्वर्ग जस्तो बनेको छ । साँझतर्फ त्यतातर्फबाट लाखौं-लाख मूल्यको कपडा तस्करी भई आउने गरको छ । त्यस्तै अबेर रातीमा यतातर्फबाट भाडाकुडा तस्करीको बाटोबाट भित्रिने गरेको छ । यस्तो तस्करी कार्य प्रहरीको मिलेमतोमा भई रहेको सामान भित्रिने बेलामा प्रहरीको अनुपस्थिति रहने गरेको देखिएको छ । नेगउमनपा भित्र तस्करीबाट बहुमूल्य सरसामानहरु भित्रि रहेको छ तर भंसार रोडमा तैनाथ प्रहरी जवान र भंसारका कर्मचारीहरु रुपैडिहाबाट घरायसी सामान ल्याई रहेका सर्वसाधारणसँग खोस्ने र रकम असुली गर्नेतर्फ आफ्नो ध्यान मात्र केन्द्रित राखेको देखिन्छ । यसलाई नै भन्ने गरिन्छ दियोको तल सधैं नै अँध्यारो । प्रहरीको कार्य हो तस्करी नियन्त्रण गर्नु तर जब त्यो आफूलाई अवैध असुलीमा तल्लीन राख्छ भने तस्करी कार्य नियन्त्रण हुनै सक्दैन । यो कुरा चाहिँ प्रष्ट छ । नेगउमनपाभित्र रहेका व्यापारी नेताहरुको स्वयं विभिन्न मालसामानहरु तस्करीको बाटोबाट भित्रि रहेको छ अनि उनीहरु जहिले पनि सस्तो लोकप्रियता पाउन सधैं नै तस्करी नियन्त्रण गर्नुपर्ने माग जोडदार ढंगले उठाउँदै आएका छन् । यसमा भन्न सकिन्छ जब आफू चोखो भइन्छ अनि मात्र तस्करी नियन्त्रणको उपदेश अरुलाई दिनु उपयुक्त हुन्छ । आफू इमान्दार नभए अरुलाई बेमान भन्ने कुरा पटक्कै सुहाउँदैन । नेपालगञ्जका सर्वसाधारण सस्तो मूल्यमा सरसामान खरीद गर्न सीमापारीको रुपैडिहा बजारमा पुग्ने गर्छन् यो उनीको बाध्यता हो सस्तो मूल्यमा सामान खरीद गर्ने रहर कसलाई हुँदैन त ? यस कारण सस्तो मूल्यमा सरसामान किनमेल गर्न सर्वसाधारण त्यहीं जान्छन् । यसबाट उनी सर्वसाधारणलाई थोरै रकमको बचत अवश्य पनि हुन्छ तर यो कुरा पनि यहाँका व्यापारी नेतालाई पच्ने गरेको छैन । अहिले उनीको पेट दुख्न शुरु भएको छ र कसैले भारतबाट १०० रु. को सामान पनि खरीद गरेर ल्याएको छ भने जबरजस्ती भंसार राजस्व असुली हुनुपर्ने माग उनीहरुले उठाउन थालेका छन् यस्तै कुरालाई अवधि भाषाको उखानमा भनिएको छ ॅखिसियानी बिल्ली खम्बा नोचै’ आफू पनि इमान्दार नबन्ने अरुले इमान्दारीपूर्वक कमाई गरी कहींबाट सस्तो मूल्यमा मालसामान खरीद गरेर ल्याई रहेको छ भने त्यस्तो इमान्दार सर्वसाधारणलाई बेमान ठहर गराउने उनीको नीति छ । हितोपदेशमा भनिएको छ पहिले आफू सुध्रिनु पर्छ अनि अरुलाई सुध्रिने नसीहत दिनुपर्छ पहिले व्यापारी नेता आफूलाई इमान्दार बनी व्यापार गरुन् अनि सर्वसाधारणहरु आफै नै इमान्दार बनी हाल्छन् । सीमापारीको भारतीय बजार रुपैडिहामा पुगी सरसामान किनमेल गर्नुपर्ने कसैको रहर होइन बरु बाध्यता हो रुपैडिहामा पुगी सरसामान किनमेल गर्नु ठूलो समस्या हो । त्यहाँका व्यापारीसँग अपमानित बन्नु, ठगिनु, कष्टम, एसएसबी चौकी आदि तर्फबाटहुँदै पहिले जमुनहा प्रहरी फेरी भंसार त्यसपछि चौलिक्कामा तैनाथ प्रहरीको सामना गर्नु धेरै नै कठिनाईपूणर् छ यहाँ सर्वसाधारणलाई हेर्दै प्रहरी भंसारका कर्मचारीहरु जसरी गिद्ध मासुको चोक्टा खोस्न झम्टिन्छ सोही प्रकार यिनीहरु रकम खोस्न सर्वसाधारणहरुमाथि झम्टिन्छन् कटु सत्य भन्ने हो भने भंसार रोड वर्तमान समय अवैध असुली गर्ने अखडा जस्तै नै बनेको छ । यहाँ तैनाथ प्रहरी र भंसार कर्मचारी तस्करी नियन्त्रण गर्न कम तर अवैध असुली गर्न धेरै ध्यान दिएका छन् । अब जति-जति चाड पर्व नजिकिँदै गएको छ त्यति-त्यति नै तस्करीको कार्य बढेको छ । तर दिखावटी रुपमा भने प्रहरी तस्करी कार्यलाई नियन्त्रण गर्नेतर्फ कस्सेर लागेको देखिन्छ तर वास्तविकता चाहिँ यो होइन प्रहरी आफै तस्करी कार्यलाई बढावा दिएको छ । २-४ सय मूल्यको सरसामान कोही सर्वसाधारण व्यक्ति भारतबाट खरीद गरेर ल्याई रहेको छ र त्यसको सरसामान खोस्ने काम हुन्छ भने भंसार कार्यालयको राजस्व उठाउने लक्ष्य पूरा हुँदैन भंसार राजस्व असुलीको लक्ष्य त्यस समय पूरा हुन्छ जब लाखौं करोडौं मूल्यको सरसामनहरु जुन कि भंसार छली तस्करी गरी ल्याइएको हुन्छ त्यसलाई पक्राउ गरिन्छ भने अनि भंसार असुल्ने लक्ष्य पूरा हुन्छ । तर भन्ने गरिन्छ काग कराउँदै रहन्छ पिना सुक्दै रहन्छ । नेपालगञ्ज उमनपामा तस्करी कार्य कुनै नौलो कुरा होइन बरु यो दशकौंदेखि चल्दै आएको हो । विभिन्न व्यापारी नेताबाट निर्देशित तस्करी केही वर्षदेखि मात्र शुरु भएको हो । योनिरन्तर रुपमा भने फस्टाईरहेको छ । यसको कारण हो वर्तमान समय यहाँका व्यापारी नेता राजनीति क्षेत्रमा बढीचढी ढंगले अघि बढेका छन् यसमा उनीहरु विभिन्न निर्वाचनमा आफ्नो सहभागिता पनि जनाउन शुरु गरेका छन् निर्वाचन लड्दा लाखाँै-लाख ठूलो रकम खर्च हुन्छ यस कारण उनी आ-आफूलाई तस्करी तर्फ बढी आफ्नो ध्यान केन्द्रित गरेका छन् । ४ वर्षसम्म २ नं.बाट लाखौं लाख रकम कमाउने र ५ वर्षमा हुने निर्वाचनमा उम्मेदवार भई खडा हुने परम्पराले गर्दा यो उमनपा तस्करको लागि स्वर्ग झैं बनेको छ । प्रहरीले वास्तविक रुपमा तस्करी कार्यलाई नियन्त्रण गर्ने चाहना राखेको छ भने नेगउमनपा ८ नं. वडाको रानीतलाउ परिक्षेत्रमा तस्करी नियन्त्रण गर्न प्रहरी बिट स्थापित गरोस् यो माग नेपालगञ्जका सर्वसाधारणको रहेको छ ।
Tags