- रमेश चन्द्र कुमाल
नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको मेयर पदका उम्मेदवारहरुको संवाद कार्यक्रममा राप्रपा नेपालबाट मेयर पदका उम्मेदवार अभय कुमार बस्नेतले विभिन्न प्रतिबद्धता प्रकट गरेका छन् ।
शुक्रवार दिन नेपालगञ्जमा आयोजित संवाद कार्यक्रममा बोल्दै बस्नेतले भने, नेपालगञ्ज उमनपाको वृहत विकासको लागि मैले विभिन्न परिकल्पनाहरु गरेको छु जसमा नगर क्षेत्रमा बाइपास सडकको निर्माण, व्यापारी उद्योगीलाई विद्युत शुल्कमा सहुलियत र नियमित विद्युत सेवा, महेन्द्र बहुमखी क्याम्पसलाई विश्वविद्यालय बनाउने, भ्रष्टाचारमुक्त समाजको निर्माण व्यापारी उद्योगीहरुलाई विभिन्न छुट सुविधा उपलब्ध गराउन आवश्यक पहल नगरलाई हराभरा बनाउने भेरी अस्पतालमा एमबीबीएस सम्मको शिक्षा लगायत योजना रहेको छ । म निर्वाचित भए जनताको इच्छा र आकाँक्षा अनुसार कार्य गर्ने प्रतिबद्धता जनाउँछु ।
केही दिनअघि उनीले ३० बुँदे प्रतिबद्धता जनाएका थिए जस प्रतिबद्धता पत्रको नेपालगञ्जवासीले स्वागत गरेका छन् । राप्रपा नेपालका उम्मेदवार अभय कुमार बस्नेत यस स्थानीय निर्वाचनमा सबै भन्दा बढी अनुभवी उम्मेदवार रहेको देखिन्छन् । नेपालगञ्जमा २०१९ म जन्मेका बस्नेत समाजशास्त्रबाट एमए गरेका छन् । उनले २०३५ सालमा राजनीतिमा प्रवेश गरेका थिए । हाल उनी नेपाल औषधि व्वसायी संघ प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा रहेका छन् । उनी नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् ।
यस्तै नेपाल औषधि व्यवसायी संघ भेरी अञ्चलको २ पटक पूर्व अध्यक्षको रुपमा कार्य गरेका छन् । हाल नेपाल हैन्डबल संघको केन्द्रिय सदस्य र बाँके हैन्डबलस संघको जिल्ला अध्यक्ष रहेका छन् ।
यस्तै हैन्डबल एथ्लेटिक्स प्रतियोगितामा आठ पटक उनले सहभागिता जनाएका छन् । उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको पूर्व प्रवक्ताको रुपमा कार्य गरि सकेका छन् । हाल उनी राप्रपा नेपालको नगर अध्यक्ष रहेका छन् ।
नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन नेपालगञ्ज युनिटको संस्थापक अध्यक्ष हुन् । यस्तै नेपाल लायन्स फेडेरेसनको चार्टर्ड सदस्य पनि हुन् । हाल उनी नेपालगञ्ज उमनपा वडा नं. १० श्री शिव महाकाली मन्दिरको उपाध्यक्ष रहेका छन् । यस्तै नेपालगञ्ज उमनपा वडा नं. १० श्री गणेश मन्दिरको उपाध्यक्ष पनि रहेका छन् ।
यस संवाद कार्यक्रममा राप्रपाबाट मेयर पदका उम्मेदवार नन्दलाल वैश्य, नेकपा एमाले पार्टीबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रा, नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार प्रशान्त विष्ट लगायतले आफ्नो विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए ।