नेपालगञ्ज । असत्यमाथि सत्य तथा आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको शास्वत सन्देश दिने नेपालीहरुको महान पर्व विजया दशमी अर्थात बडा दशैं शनिवार श्रद्धाभक्तिपूर्वक मनाइएको छ ।
बडा दशैंको पहिलो दिन गत असोज १७ गते बिहीवार घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरि विजया दशमी पर्व प्रारम्भ भएको थियो ।
घटस्थापनासंगै प्रारम्भ हुने यस पर्वमा दुर्गा भवानीको विभिन्न ९ रुपको पूजा उपासना गरिन्छ । यी नौ दिनमा घर–घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्ने गरिन्छ ।
दशमी तिथि अर्थात् विजया दशमीको दसौँ दिन । यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । यसै दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।
टीका, जमरा अनि रमाइलोको वातावरण दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्वमाथि मानवताको विजयका रूपमा यो पर्वलाई लिइन्छ ।
यसबीच नेपालगञ्जमा सञ्चालनमा रहेको १५७औं रामलिलामा बडा दशैको दिनमा रावणको बध गरिएको छ ।
बडा दशैंको अवसरमा रामायणमा आधारित रामलिला अन्तर्गत नेपालगञ्जको रामलिला मैदानमा सञ्चालन भएको रामलिलामा दशमीको दिनमा रावणको बध गरिएको हो ।
यो गत १५७ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ भारतबाट आएका कलाकारले बाल्मिकी रामायणमा आधरित रामलिला मञ्चन गदै आएका छन् ।
रामलिला सञ्चालक समितिका सदस्य रमेशचन्द्र कुमालले घटस्थापनाको दिनदेखि नै विधिवत रुपमा रामलिला मैदानमा रामलिला मञ्चन गर्दै आएको र रामायणमा आधारित रामलिलामा रामको राज्याभिषेक गरी समाप्त भएको जानकारी दिएका छन् ।
यस्तै घटस्थापनाको दिनदेखि नगर तथा विभिन्न ग्रामीण क्षेत्रमा स्थापित गरिएका दुर्गा प्रतिमाहरु आइतवार नदीमा लगेर विसर्जन गरिएको छ ।
यसैगरि नवरात्राको निराहार ब्रत बसेका नेपालगञ्जका कसौधन बैश्य महिला मञ्च तथा मारवाडी महिलाहरुले नवमीको दिन राती नेपालगञ्जमा डाँडिया नाच प्रदर्शन गरेका छन् ।
नेपालगञ्जको त्रिभुवनचोक पूर्वपट्टि रहेको माता दुर्गाको पण्डालमा नवमीको होम सम्पन्न गरीसकेपछि मातालाई खुशी पार्नको लागि आफुहरुले डाँडिया नाच आयोजना गरेको कसौधन महिला मञ्चका सुशीला बैश्यले जानकारी दिइन् ।