नेपालगञ्ज । आर्थिक मन्दीका कारण अहिले उद्योगी व्यापारी त्रस्त बनेका छन् । उद्योग व्यापार नचलेपछि विभिन्न पसलेहरुले संचालन गरेको शटर धमाधम बन्द हुँदै गएका छन् ।
नेपालगञ्जको सुर्खेतरोड, धम्बोझी, न्यूरोड लगायतमा संचलन रहेका पसलहरु धमाधम बन्द हुँदै गएका छन् । अहिले सुर्खेतरोड, न्यूरोड लगायतमा रहेको पसलहरु बन्द हुँदै गएपछि अधिकांश घरधनीहरुले शटर खाली रहेको बोर्ड समेत झुण्ड्याएका छन् तर कोही शटर लिन तयार रहेको देखिँदैन । आर्थिक मन्दीबाट मात्र व्यापारिक प्रतिष्ठान बन्द भइ रहेका छैनन् बरु साना लगानीका उद्योगहरु पनि बन्द भई रहेका छन् । यस सम्बन्धमा यस पत्रिकाले विभिन्न उद्योगी व्यापारी– हरुसँग कुराकानी गर्दा उनीहरुले भने, नेपालगञ्जमा भारतबाट विभिन्न मालसामान तस्करी र क्यारिंगबाट आउने गरेकोले हाम्रो कारोबार धरासाई बनेको छ । यहाँ तस्करी कार्य चरम रुपमा बढेको छ । भारतमा विभिन्न सरसामान सस्तो पर्ने गरेकोले नेपाली उपभोक्ता सीमापारीको भारतीय बजारबाट सरसामान किनमेल गर्न रुचाउँछन् । यहाँ भारतीय सीमाको बजारको मुल्यमा सरसामान बिक्री गर्न गाह्रो भएको छ । हामी भारतीय बजारसँग प्रतिस्पर्धा गर्न चाहन्छौं तर चर्काे भन्सार शुल्कले गर्दा मालसामान महँगो पर्ने गर्छ । यहाँ बिक्री हुने मालसामान महँगो छ यसको अतिरिक्त सीमा पारीको भारतीय व्यापारीको मालसामान सस्तो छ यसरी बढ्दो महँगीको कारणले नै हाम्रो कारोबारमा तिव्र रुपले ह्रास भएको भनेका छन् । कारोबार नचलेपछि विभिन्न व्यवसायीले भाडामा लिएको पसल खाली गरी सो पसल आ–आफ्नो घरबाट संचालन गरेका छन् । यस कारण नेपालगञ्ज उमनपाको मुख्य सडकमा संचालनमा रहेको बटर बन्द भएका छन् । शटर खाली गरेका पसले भन्छन्, मुख्य सडकमा शटर भाडामा लिई संचालन गर्दा मँहगो शटरको भाडा तिर्नुपर्ने, विद्युत खानेपानी कर्मचारीमा खर्च बढी भई रहेको थियो अहिले आफ्नो घरमा पसल संचालन गरेपछि सो अतिरिक्त खर्च घटेको छ । कारोबारमा वृद्धि गर्न विभिन्न बैकसँग ऋण लिइनुपर्ने बाध्यता हुन्छ बैंकको चर्काे ब्याजको कारण ऋण तिर्न समेत गाह्रो भएकोले बैंकसँग ऋण लिनी चाही रहेको छैन । आर्थिक मन्दी बढ्दै गई रहेको छ यसमा सुधार हुने अवस्था रहेको देखिँदैन यस कारण अब कारोबारमा वृद्धि गर्ने क्षमता हराएको गुनासो उनीहरुले गरेका छन् ।
श्रावण महिनादेखि विभिन्न चाडपर्वको शुरुवात हुने गर्छ विगत वर्षहरुमा यो महिनादेखि कारोबार चल्ने सिजन शुरु हुन्थ्यो तर अहिले रक्षा बन्धन लगायत पर्व सम्पन्न भई सकेको छ केही दिनपछि बडा दशैं मनाउने तैयारी शुरु हुन्छ तर पर्वहरुमा पसलमा रौनक देखा परी रहेको छैन । चाडपर्व शुरु हुँदा यहाँ विगत वर्षहरु जस्तै पसल त लाग्ने गर्छ तर उपभोक्ता यहाँ किनमेल नगरी अधिकांश भारतीय बजारमा किनमेल गर्न पुग्ने गरेकोले त्यता उपभोक्ताको भीडभाड बढी छ नेपालगञ्ज भने सुनसान प्रायः रहँदै आएको छ । आर्थिक मन्दीको कारण नेगउमनपा भित्रको बजार सुक्दै गएकोले सर्वत्र चिन्ता बढेको छ । नेपालगञ्जमा व्यापारिक प्रतिष्ठानको अवस्था धरासाई बन्दै गएपछि यहाँ बसोबास गर्ने अधिकांश व्यापारी सीमा पारीको भारतीय बजारमा पसल संचालन गरेको देखिन्छन् उमनपामा पसल संचालनमा रहेको छ तर सम्पूर्ण बजार उपभोक्ता बिना सुनसान प्राय छन् । नेपालगञ्जमा अहिले रेष्टोरेन्ट, नास्ता पसल, मिठाई पसल, कपडा पसल, रेडिमेड कपडा पसल र सुनचाँदी पसलमा कारोबार ठीकठाक अवस्थामा छ तर खाद्यान्न, किराना पसलको कारोबार पूर्ण रुपले ठप्प अवस्थामा पुगेको छ ।