– मनोज कुमार कौशल
नेपालगञ्ज । ई–रिक्शा व्यवस्थापन प्रा.लि.ले लाखौं लाख रकम अवैध ढंगले असुली गरेर खाएको नेपाल ई–रिक्शा उद्योग महासंघले एक कार्यक्रमबीच आरोप लगाएको छ ।
ई–रिक्शा उद्योग महासंघ संजालका अध्यक्ष मो. शेर बागवानले बुधवार दिन नेपालगञ्जमा पत्रकार सम्मेलन गरी ई–रिक्शालाई एकद्वार प्रणालीबाट यातायात कार्यालयमा दर्ता नविकरण गर्ने वा नेपालगञ्ज उमनपाबाट दर्ता नविकरण मात्र गर्ने गरी चल्न दिने माग गर्दै स्थानीय निकायले विदेशबाट आयात भएको विदेशी ई–रिक्शालाई प्रोत्साहन दिई स्वदेशबाट उत्पादन भएको ई–रिक्शालाई दुःख र पिडा दिएको आरोप लगाएका छन् ।
नेपाल ई–रिक्शा उद्योग महासंघ संजालका अध्यक्ष बागवानले प्रेस सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि, मिहिनेत र परिश्रम गर्ने अवस्थामा कार्य गरी रहँदा हामीमाथि ठूलो चुनौति थपिएको छ । हामीले कम नाफामा गुणस्तरीय र सुरक्षित सस्तो भरपर्दाे ई–रिक्शा उत्पादन गर्दा क्षणमा विदेशी ई–रिक्शाले हाम्रो स्थानीय बजारलाई प्रभावित पारी रहेको छ । यसबीच बिना सबूद प्रमाण हाम्रो उद्योगहरुलाई त्रसित पार्ने, धम्की झुठा उजुरी दिने लगायत कार्य भई विभिन्न आरोह अवरोह पैदा गरिएको छ । कहिले यातायातमा दर्ता गराउने र कहिले नेगउमनपाबाट दर्ता गराउने कुराले ई–रिक्शा उद्योग मजदूरहरुलाई पिडा दिइने काम जारी रहेकोले महासंघ आन्दोलनमा उत्रन बाध्य भएको छ । उमनपाका प्रमुख उपप्रमुख समेतले स्थानीय उत्पादनलाई वास्ता नै नगरी उल्टै मानसिक यातना तथा अनाहकको शुल्क असुलीले गर्दा कडा भन्दा कडा आन्दोलनमा उत्रने निष्कर्षमा आफूहरु पुगेको बताए । अध्यक्ष बागवानले महासंघको माग अघि सार्दै भने, या त यातायात कार्यालयबाट वा उपमनपामा दर्ता नविकरण मात्र गर्ने गरी ई–रिक्शा चल्न दिनु प¥यो दुवै ठाउँबाट दर्ता गराउने प्रावधान अव्यवहारिक छ । दोहोरो शुल्क लिन मिल्दैन भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ई–रिक्शा उद्योगमाथि दिइएको झुठा उजुरी आयोगले आफ्नो कार्यको दायराभित्र रही निष्पक्ष रुपमा अनुसन्धान गरी श्रम गर्ने वातावरण बनाउनु प¥यो त्यस्तै आयोगद्वारा प्रक्रियागत रुपमा उजुरी लिई विदेशबाट आयात गरिएको विदेशी ई–रिक्शा उद्योगहरु उमनपा अन्तर्गतको मापदण्ड अनुसार भए नभएको, बिक्री वितरण, चेचिस नं., भन्सार चोरी पैठारी, आरडिएफ, भन्सार शुल्क, भ्याट र दर्ता शुल्क लगायतको सबै दस्तावेज कागजातहरु तत्काल चेकजाँच गरी नेपाल सरकारको नियमानुसार रहे नरहेको छुट्याई आवश्यक कारवाही हुनु प¥यो । ई–रिक्शा उद्योग विस्थापित गराउने उद्देश्यले आयोगमा दिने झुठा उजुरी दिनेमाथि अनुसन्धान गरी कारवाही चलाउनु पर्ने, विदेशबाट आयात गरिने विदेशी ई–रिक्शाको आयात बन्द गर्ने र ई–रिक्शा उद्योग र ई–रिक्शा उद्योगीहरुको सुरक्षाको ग्यारेन्टी सुनिश्चित गरियोस् माग राखे । त्यस्तै महासंघका कोषाध्यक्ष एवं संघर्ष समितिका संयोजक रियाज अहमद शेषले आफ्नो विचार राख्दै भने, स्वदेशी रिक्शा उत्पादन गर्ने अहिले सुरक्षित छैनन् न त ई–रिक्शा चलाउनेहरु नै सुरक्षित छन् । ई–रिक्शा संचालनमा केही समस्याहरु अवश्य छ यस्तो विद्यमान समस्याको अन्त हुनुपर्छ । ई–रिक्शा व्यवस्थापन गर्नुस् तर विस्थापित नगर्नुस् यो हाम्रो माग हो । अवैध लुटको अन्त हुनुपर्छ । ई–रिक्शा चल्ने रुट निर्धारण गरेर समस्याको अन्त अवश्य हुन्छ तर यहाँ ई–रिक्शामाथि लुटतन्त्र चलाइएको छ । उनले आरोप लगाउँदै भने, ई–रिक्शा व्यवस्थापन प्रा.लि.का कुमार सिंह राठौरले ई–रिक्शाहरुबाट अवैध असुली गरी लाखौं लाख रकम असुली गरेका छन् । अवैध ई–रिक्शालाई वैद्य गराई २० हजार रकम खाएको हामीसँग प्रमाण रहेको बताए । उनले स्वदेशी ई–रिक्शाहरुलाई न्याय दिलाउने संजाल देशव्यापी रुपमा आन्दोलन चलाउने खुलासा समेत गरे ।