निरंकुशताको अन्त गर्न २०६२÷०६३ को जन आन्दोलन चलाइएको थियो जसको कारण मुलुकमा गणतन्त्रको स्थापना भयो ।
यस गणतन्त्रमा सबैले बराबरीको हक अधिकार पाउने, देश विकासतर्फ लम्किने अपेक्षा लिएका थिए तर अफसोच छ जुन इच्छा र आकाँक्षा नेपाली जनताले लिएका थिए त्यो पूरा हुन पाएन । न त यसमा सबैलाई बराबरीको हक अधिकार मिल्यो, न त देशको विकास हुन सक्यो जसको कारण अब जनतामा गणतन्त्र र लोकतन्त्रप्रति वितृष्णा फैलिन थालेको छ । बराबरीको हक अधिकार जनतालाई मिलेन जसको कारण आज पनि मधेसी, दलित, जनजाति लगायतसँग पक्षपात भई रहेको देखिन्छ। देशको विकास नभएको अनुभूति यसरी गर्न सकिन्छ कि अहिले देशमा आर्थिक मन्दीको अवस्था छ उद्योग, व्यवसाय, कलकारखाना धरासाई अवस्थामा छन् ।
गणतन्त्रको स्थापनासँगै तमाम उद्योग,कलकारखाना बन्द भएको छ जबकि विगतमा बन्द भएको कलकारखाना, उद्योगहरु सञ्चालित हुनु पथ्र्याे ।
वास्तविक रुपमा भन्ने हो भने २०६२÷०६३ को जनआन्दोलनको सफलता पछि सत्तासीन भएका विभिन्न सरकारहरुले देश आत्मनिर्भर बनोस्, देश विकासतर्फ लम्कियोस् यसको लागि कुनै प्रयास नै गरेनन् । यी सरकारहरुले देशमा ३ वटा सरकारको स्थापना गरी दलका नेताहरुलाई रोजगार दिलाउने मात्र कार्य गरे । अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार छ, सांसद, सभासद लगायतलाई पाल्न ठूलो रकम खर्च भई रहेको छ ।
संघीयता देशको लागि अहिले एउटा अभिषाप जस्तो बनेको छ । यस कारण जनता यो संघीयताको खारेजी हुनुपर्ने माग उठाउन शुरु गरेका छन् ।
गणतन्त्र दिवस यस वर्ष पुनः नेपाली जनता मनाई रहेका छन् तर जस्तो उत्साह उनीमा हुनु पथ्र्याे त्यस्तो उत्साह भने देखिँदैन । देश भ्रष्टाचार, अत्याचार, अनाचार, घुसखोरी, आर्थिक मन्दीले त्रस्त छ । यस्तो अवस्थामा गणतन्त्र दिवस मनाई रहेका छन् सबै । यस कारण अशान्त मन भए पनि गणतन्त्र दिवस भव्यता र हर्षाेल्लासमा मनाउने प्रयास हामी सबैले गरौं ।