– मनोज कुमार कौशल
नेपालगञ्ज÷नेपालगञ्जका व्यापारीहरुको लुटाहा प्रवृत्तिले गर्दा अहिले नेपालगञ्ज बजार सुक्दै गइ रहेको छ ।
उपभोक्ताहरुको मन मस्तिष्कमा एउटा कुरा बसी सकेको छ कि नेपालगञ्जको बजारबाट कुनै पनि सरसामान किनमेल गरे व्यापारीले चर्काे मूल्य असुली गर्ने र लुट्ने गरेका छन् । यस कारण अधिकांश उपभोक्ता नेपालगञ्ज बजारबाट सरसामान खरीद गर्न छाडेका छन् । यसको सट्टा समय झिकेर उनीहरु सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न पुग्ने गरेका छन् जसको कारण रुपैडिहाको बजार निकै नै फस्टाएको छ । त्यहाँ दैनिक करोडौंको व्यापार व्यवसाय हुने गर्छ यता नेपालगञ्जको बजार सुनसानप्राय छ । हताश मानेर यहाँका व्यापारी सीमामा कडाई गर्नुपर्ने र सरसामानमा भन्सार शुल्क घटाउनुपर्ने माग गर्न शुरु गरेका छन् । यो कुरा वास्तविक हो कि नेपालञ्जमा बिक्री हुने हरेक सरसामान महँगो छ । विभिन्न खाद्यान्न नेपालगञ्जमा महँगो छ चाहे त्यो माछा, मासु, अण्डा नै किन नहोस् । यस्तै प्रकारको स्थिति लुगा, लत्ता कपडामा छ । रुपैडिहामा जुन लुगा लत्ता कपडा केही सय मूल्यमा पाइन्छ त्यही लुगा लत्ता कपडाको मूल्य यहाँ हजारमा पर्छ । यस्तो नेपालगञ्जका लुटाहा प्रवृत्तिको कारण भएको हो । यस्तै प्रकारको लुटाहा प्रवृत्ति उनीमा हावी रहने हो भने उनीको दुर्दिन अब टाढा छैन किनकि नेपालगञ्जका व्यापारीको एउटा नीति छ, हदैसम्म मुनाफा कमाउन उनीहरु थोरै सामानहरुको भन्सार राजस्व तिरी बिक्रीको लागि ल्याउने गर्छन् यसको सट्टा अधिकांश सरसामान उनी क्यारिंग र तस्करीबाट मगाई यहाँ बिक्री गर्ने गरेका छन् । तर व्यापार व्यवसाय सुक्दा भन्सार राजस्व घटाउनुपर्ने माग उठाउँदै आएका छन् । क्यारिंग र तस्करीबाट मात्र व्यापारी लाभान्वित बनेका छैनन् बरु भन्सार, प्रहरी सबै नै यसबाट लाभान्वित बनेका छन् । जसको कारण क्यारिंग र तस्करी घट्नुको सट्टा अझ दिनदिनै बढी रहेको छ ।
नेपालगञ्ज बजार सुकी सकेको छ, व्यापारी आ–आफ्नो पसलमा दिनभरी ड्युटी दिन्छन् तर पसलमा उपभोक्ताहरु आउन छाडेका छन् । त्यता रुपैडिहा बजारमा खुट्टा टेक्ने ठाउँ छैन बजार उपभोक्ताले भरी भराउ छ जसबाट सर्वसाधारणलाई आवत जावत गर्न कठिनाई परी रहेको छ यो कठिनाई हटाउन रुपैडिहाका सुरक्षा– कर्मीहरुले पसलेहरुलाई बाटोको दुवै तर्फमा सरसामानको पसल नलगाउन आग्रह गर्न शुरु गरेका छन् । यो आग्रहलाई अटेर गरे कडाई गर्ने समेत भनेका छन् ।