नेपालगञ्जको व्यापार व्यवसाय अहिले चौपट स्थितिमा पुगेको छ । यहाँको बजार सुक्दै गइ रहेकोले यहाँ सबैले चिन्तन मनन गर्नु जरुरी छ कि यसको दोषी को हो
त ? नेपालगञ्ज उद्योग वाणिज्य संघ, सरकारी राजस्व असुली नीति या स्वयं व्यापारी ? यसबारे खोतल्दा पाइन्छ कि नेपाली बजार सुकाउनुमा यी ३ वटै दोषी छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले पसलहरुबाट बिक्री हुने सरसमानको मूल्यमा एकरुपता ल्याउनुपर्ने दबाव दिन सकेको छैन जसको कारण व्यापारीहरु मनोमानी ढंगले सरसामान बिक्री गरी रहेका छन् । सामानको मूल्य पसलपिच्छे फरक फरक छ जसको कारण उपभोक्ताले नेपालगञ्जका व्यापारीमाथि विश्वास गर्न छाडेका छन् । आवश्यकता परे १००–५० को सामान बाध्यताले यहाँ किनमेल गर्ने र अधिकांश सरसामान सीमापारीको भारतीय बजार रुपैडिहाबाट किनमेल गर्न रुचाउँछन् । नेपालगञ्जका व्यापारीमा १० प्रतिशत सम्मको नाफा कमाउने प्रवृत्ति छैन यसको सट्टा केही समय बढी नाफा कमाउने रुचि रहेकोले नेपालगञ्जको व्यापार व्यवसाय धरासाई बन्न पुगेको छ । नेपाली उपभोक्ता आफ्नो सुविधा अनुसारको ठाउँ रुपैडिहा बजार, कोही बलैगाउँ, केहीहरु त बाँकेको लक्ष्मणपुर बाँध नजीक रहेको हरेक शुक्रवार लाग्ने हाट बजारमा सरसामान किनमेल गर्न रुचाउँछन् । सो बजारमा रुपैडिहा भन्दा सस्तो मूल्यमा सरसामान किनमेल गर्न पाउने गरिएकोले अब शुक्रबजारको आकर्षण निकै नै बढेको छ । यसको कारण यो छ कि रुपैडिहा बजारबाट सरसामान किनमेल गरेर ल्याउँदा भारतीय सीमा सुरक्षा बल एसएसबीबाट हुने चेकजाँच, त्यस्तै जमुनहा प्रहरी, नेपालगञ्ज भन्सार कार्यालय, जैसपुर प्रहरी चौकी, चौलिक्कामा स्थापित सशस्त्र प्रहरी बलको झमेला, यस्तो झमेला शुक्रबजारबाट सरसामान किनमेल गरेर ल्याउँदा उपभोक्तालाई झेल्नु पर्दैन । एक त रुपैडिहा भन्दा सस्तो मूल्यको विभिन्न सरसामान पाइने अर्काेतर्फ विभिन्न ठाउँमा हुने अनावश्यक चेकजाँचबाट मुक्ति । नेपालगञ्जको व्यापार व्यवसाय अब ठप्प प्राय बनेको छ । उपभोक्ताहरु अब कमै संख्यामा भाटभटेनी सरसामान किनमेल गर्न पुगी रहेका छन् यसको कारण छ भाटभटेनीको तमाम सरसामान चर्काे मूल्यको छ । उपभोक्ता सस्तो मूल्यको सरसामान किनमेल गर्न रुचाउँछन् यस कारण भारतीय बजार आकर्षणको मुख्य केन्द्र बनेको छ । केही हप्ताअघि नेपालगञ्जका कुखुरा पालकहरु सुर्खेतरोडको गणेशमान चोकमा पुगी भारतीय कुखुरा नेपालगञ्जमा पस्न नदिन सीमामा कडाई हुनुपर्ने माग राख्दै चोकमा यत्रतत्र कुखुरा फालेर विरोध जनाएका थिए तर यस्तो विरोधबाट भारतीय बजारलाई कुनै प्रभाव परी रहेको छैन जुन कुखुराको मासु तातो पानीमा चोपिएको छाला सहित ३६० नेरु प्रति केजी मूल्यमा यहाँ बिक्री हुन्छ त्यही कुखुराको मासु रुपैडिहा बजारमा पानी चोपिएको छाला नभएको २५० प्रति केजीको त्यहाँ बिक्री हुन्छ यस कारण यहाँ आयोजित हुने विभिन्न बिहे लगायतमा आउने कुन्टलौं कुखुराको मासु रुपैडिहा तर्फबाट क्यारिंग भएर आउने गरेको छ । जुन गहुँको पिठो नेपालगञ्जमा ५ केजीको ३४० देखि ४ सय ६० सम्ममा बिक्री हुन्छ त्यही गहुँको पिठो आज पनि रुपैडिहा बजारमा ५ केजी २५० नेरु मूल्यमा खरीद गर्न मिल्छ । यी सामानको मूल्य उदाहरण मात्र हुन् त्यहाँ प्रायः सबै सरसामान सस्तो छ त्यो फलफूल होस् वा हरियो तरकारी अथवा अय कुनै सरसामान । रुपैडिहाको कारोबार दिनदिनै फस्टाई रहेको छ ।