असक्षम नेपाल सुनचाँदी व्यवसायी संघ।
Monday, July 11, 2022
0
असक्षम नेपाल सुनचाँदी व्यवसायी संघ विगत समय नेपाल गञ्जका सुनचाँदी व्यवसायी हरुको हक अधिकारका लागि उल्लेखनीय कार्य गरेको नेपाल सुनचाँदी व्यवसायी संघ आफ्नो असक्षमताले गर्दा अब आफ्नो अवनतितर्फ लागेको देखिन्छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघले दशकौंअघि सुनचाँदी व्यवसायमा पारदर्शिता ल्याउन ठूलोप्रयासहरु गरेको थियो त्यस समय उपभोक्तालाई आफ्नो विभिन्न सुनचाँदीको गहनाहरु विभिन्न सुनचाँदी पसलेहरुबाट बनाउँदा टाँका राख्ने क्रममा ग्राहकहरुलाई ठग्ने गर्थे तर पछि रसायन रहित ढंगले गहना बनाउने कार्यमा जोड दिइयो । अहिले गहनाहरुमा रसायनको प्रयोग नगण्य रुपमा भएको पाइन्छ टाँका पनि कमै लगाउने काम भइरहेको छ यो सबै कार्य संघको विगतका कार्य समितिको पहलमा भएको थियो तर अब संघको वर्तमान कार्य समिति असक्षम भएकोले सुनचाँदी व्यवसायीमा छाडापन आएको छ । यो कारोबारबाट मनग्ये धन कमाउन सकिन्छ यो लोभ राखेकोले विभिन्न पसलहरु बन्द गरी उनीहरुले सुनचाँदी पसल सञ्चालन गरेका छन् जसको कारण अब सुनचाँदी पसलहरु बुचरखाना पसल जस्तै बनेका छन् । सदरलाईनमा त केही पसलेहरुले ग्राहक समातेर ल्याउन थुप्रै कामदार नै नोकरीमा राखेका छन् । त्यस्ता कामदारको काम मात्र बाटो हिँड्दै गरेका बटुवालाई समातेर पसलभित्र ल्याउनु हो । अब यस्तो कुराबाट आफै नै सिद्ध हुन्छ कि सुनचाँदी कारोबारको गरिमा र मर्यादा कतिको खसी सकेको छ । बाँकेमा सुनचाँदी व्यवसायीको हक हितमा काम गर्ने ३ वटा संघ छ र एउटा मात्र कालीगढहरुको हकहितमा कार्य गर्ने गरेको छ । विगत समय नेपाल सुनचाँदी व्यवसायी संघले राम्रो कार्य गरेकोले सबैतर्फबाट प्रशंसा पाएको थियो तर केही वर्षदेखि नेपाल सुनचाँदी व्यवसायी संघ एउटा परिवारसँग सीमित भएकोले त्यो चाहिँ दीर्घकालसम्मको लागि त्यहाँ सर्प कुण्डली मार्ने दाउ खेल्दै आएको छ । संघको आफ्नो भवन निर्माणका लागि विगत समयनै पहल गरिएको थियो यस क्रममा न्यूरोडमा जग्गा खरीद गर्ने क्रममा ठूलो धाँधली हुँदा यसको तिव्र विरोध भई केहीमाथि कारवाही चलाइयो । कार्यवाहीबाट उनीले रकम फिर्ता गरे र अर्कै ठाउँमा भवन निर्माण गर्न जग्गा खोजतलासमा लागे । विगत वर्ष संघको नाममा जग्गा खरीद गरी सकिएको छ तर संघको वर्तमान असक्षम कार्य समितिको कारण भवन निर्माण कार्य अनिश्चित बनेको छ । गत शनिवार संघको साधारणसाको आयोजन हुँदा त्यहाँ ठूलो तिव्र विरोधको स्वर उठ्यो । विरोधको कारण थियो वर्तमान कार्य समितिले दीर्घकालसम्मका लागि संघलाई आफ्नो वर्चस्वमा राख्नु । केही महिनाअघि एउटा निणर्यमा कुनै पनि सदस्यले अध्यक्ष पदको निर्वाचनमा भाग लिन पहिले सदस्य, त्यसपछि कोषाध्यक्ष, सचिव, उपाध्यक्षको चुनावमा विजयी हुने र सो पछि मात्र अध्यक्ष पदको निर्वाचन लड्न पाउने कुरा आफ्नो विधानमा उल्लेख गराउन सफल भएको थियो । साधारण सभामा यस निणर्यको तिव्र ढंगले विरोध भयो जसबाट सो निणर्य अन्ततः खारेज गराइएको छ तर यस वर्ष हुने निर्वाचन भने आगामी वर्षमा गराइने भएको छ । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघभित्र मनपरी तन्त्र र परिवारवाद अब हावी भइसकेकोले नेपालगञ्जका सुनचाँदी व्यवसायीहरु नेपालगञ्ज सुनचाँदी व्यवसायी परित्याग गरि यसको सट्टामा बाँके सुनचाँदी व्यवसायी संघको सदस्यता लिने मन्सायमा जुटेको देखिन्छ । यो संघ व्यवसायीको इच्छा आकाँक्षा अनुसार काम गर्न सकीरहेको छैन । हरेक दिन बिहान जुन प्रकारले बाँके सुनचाँदी व्यवसायी संघ पसलहरुमा सुनचाँदीको दैनिक रेटलिस्ट उपलब्ध गराउँछ सोही प्रकारको कार्य नेपाल सुनचाँदी व्यवसायी संघले पनि गर्छ । सुनको अभाव यहाँ पसलेहरुलाई दैनिक रुपमा झेल्नुपर्छ । संघ आवश्यकता अनुसारको सुन, सुनचाँदी पसलेहरुलाई उपलब्ध गराउन सकीरहेको छैन । आगामी असोजदेखि सुनचाँदीको कारोबार चल्ने सम्भावना छ । अहिलेसम्म यो कारोबार अत्यन्त मद्धिम गतिमा चली रहेको छ । सिजन चल्दा सुनको अभाव रह्यो भने पसलेहरुलाई ठूलो हानी नोक्सानी झेल्नुपर्ने हुन्छ यस्तो समस्या झेल्नुनपरोस् यसको लागि यहाँका सुनचाँदी पसलेहरु बाँके सुनचाँदी व्यवसायी संघको सदस्यता लिने मन्साय बनाएको देखिन्छ ।
Tags