नेपालगञ्ज/संसदीय निर्वाचन नजिकिँदै जाँदा अहिले बाँके जिल्लामा प्रतिमाको राजनीति चर्केको छ । नेपालगञ्जको धम्बोझी चोकमा विगत समय लोकप्रिय राजा वीरेन्द्र सरकारको प्रतिमा स्थापित रहेको थियो । २०६२-०६३ को जनआन्दोलन भाग-२ मा सो प्रतिमा उच्छृंखल तत्वहरुले भत्काएका थिए जसको कारण सो चोक पनि प्रतिमा विहीन बनेको थियो । स्थानीय निर्वाचन वैशाख ३० गते हुँदा यसको तयारी गर्दै नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा राष्ट्रवादी युवाले त्यहाँ राष्ट्रपिता स्व. श्री ५ त्रिभुवन सरकारको प्रतिमा स्थापित गरेका थिए । सो प्रतिमा सफलतापूर्वक लगाइएकोले राष्ट्रवादी युवाहरु हौसिएका थिए यस कारण उनीहरुले धम्बोझी चोकमा स्व. राजा वीरेन्द्र शाह सरकारको प्रतिमा स्थापित गर्ने घोषणा गरेका थिए अतःपूर्व निर्धारित कार्यक्रम अनुसार राष्ट्रवादीहरुले बिहीवार दिन स्व. राजा वीरेन्द्र शाहदेव सरकारको बिहान ९ बजे प्रतिमा स्थापना गरेका थिए तर २ घण्टा बित्न नपाउँदै प्रहरीले सो प्रतिमा भत्काएर खोलेको थियो जस घटनाबाट सर्वसाधारण जनता आक्रोशित बने र ॅराजा आउ देश बचाउ, प्रहरी प्रशासन मुर्दाबाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायत नारा लगाउन शुरु गरे । यस समय प्रहरी आक्रोशित बन्यो र त्यहाँ उपस्थित जनसमुदायमाथि अन्धाधुन्ध लठ्ठीचार्ज गर्न शुरु गर्यो । यसबीच त्यहाँ उपस्थित जनसमुदायले प्रहरीलाई दमनको बाटो नरोजी लठ्ठी चार्ज नगर्न आग्रह गर्दै रहे तर प्रहरी यति गैरजिम्मेवार ढंगले प्रस्तुत भयो कि त्यसले बाटो हिँड्ने बटुवालाई पनि छाडेन । सबैमाथि निर्मम ढंगले लठ्ठीचार्ज गर्यो यसबाट त्यहाँको वातावरण बिग्रियो र जनताले पनि प्रहरीमाथि ढुंगामुढा गर्न शुरु गरे । घर-घरबाट प्रहरीमाथि ढुंगा बर्सिन शुरु भयो । यस्तो ढुंगाको प्रहारबाट ७ जना प्रहरी घाइते बने । आक्रोशित र पराजित प्रहरी यस समय झनै आक्रामक बन्यो र त्यसले सर्वसाधारणमाथि ७ राउण्ड जति गोली चलायो । यसमा करीब दर्जनौं सर्वसाधारण घाइते भएको पाइएको छ । जेठ १९ गते शुक्रवार दिन नारायणहिटी राजदरबारमा आजभन्दा २१ वर्ष अघि जनतामा अति नै लोकप्रिय राजा जननायक राजा वीरेन्द्र सरकारको सम्पूणर् वंश विनाश गरिएको थियो । यस घटनामा १० जना राजपरिवारका सदस्यको विभत्स हत्या गरिएको थियो र करीब सैयौं जना उनका समर्थकको हत्या गरिएको थियो यस घटनालाई राष्ट्रवादी नेपाली जनताले आजको दिनलाई कालो राति मानी स्व. राजा वीरेन्द्र र स्व. महारानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै आएका छन् । यसर्थ यसै दिनमा राष्ट्रवादी युवाले धम्बोझी चोकमा वीरेन्द्र सरकारको प्रतिमा स्थापना गरेका थिए तर उमनपामा नवनिर्वाचित नगर प्रमुख र नगर उपप्रमुखले प्रतिमामाथि आफ्नो राजनीति चम्काउने प्रयास गरि उनीको निर्देशन बमोजिम प्रहरीले दमनको बाटो रोज्यो र प्रतिमा स्थापनाको विषय लिएर अप्रिय घटना घट्न गयो । धम्बोझीमा ७ राउण्ड गोली प्रहार गरेपछि आक्रोशित राष्ट्रवादी युवा समूह न्यूरोडमा स्थापित रहेको शहीद सेतु बिक चोकमा स्थापित शहीद सेतु बिकको प्रतिमा भत्काएका थिए । आक्रोशित युवाहरु भनी रहेका थिए प्रहरीले राजा वीरेन्द्रको प्रतिमा भत्काएको बदलामा हामीले सेतु बिकको प्रतिमा भत्काएका हौं । राजा वीरेन्द्रको प्रतिमा लाग्दैन भने नेताहरुको झारपात जस्तो लागेको प्रतिमा पनि रहँदैन । शहीद सेतु बिकको प्रतिमा तोडफोड गरेपछि सो युवाहरु भागेका थिए तर आक्रोशित प्रहरी बाटो हिँड्ने बटुवालाई पक्राउ गरि निर्मम ढंगले कुटपीट गरेर हिरासतमा लिएको थियो । नेपालगञ्जमा घटित अप्रिय घटनाको देशभरी नै आलोचना भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् भने राप्रपाका राष्टिय अध्यक्ष राजेन्द्र लिंगदेनले पक्राउ गरिएका व्यक्तिको सुरक्षित रिहाइ गर्न माग गरेका छन् यसरी उमनपाका नवनिर्वाचित नगर प्रमुख र नगरउपप्रमुखको अदूरदर्शी नीतिको कारण नेपालगञ्जमा मुठभेडको स्थिति सिर्जना भएको छ । नगर प्रमुख प्रशान्त विष्टले कसैलाई जानकारी नदिइ एक्कासी राजा वीरेन्द्रको प्रतिमा स्थापित गरिएकोले यस्तो दुखद घटना भएको भनाई राखेका छन् । यसमा नेपालगञ्जका बुद्धिजीविहरुले सो चोक विगत देखि नै वीरेन्द्र चोक थियो यस कारण वीरेन्द्र सरकारको नामको चोकमा उहाँको प्रतिमा स्थापित गर्न कसैको स्वीकृतिको आवश्यकता छैन । जनता आफ्नो राजालाई अगाध माया गर्छन् उनीहरुले स्थापित गरेको स्व. राजा वीरेन्द्र शालिक हटाउन दमनको बाटो रोज्नु गलत रहेको अधिकांशको भनाई रहेको छ । सरकारको प्रतिमा प्रहरीले भत्काएपछि सम्पूणर् नेपालगञ्ज नगर नै तनावग्रस्त बनेको थियो । बिहीवार दिन प्रहरी प्रशासनको विरोधमा राँके जुलुस निकाली विरोध प्रदर्शन गरिएको थियो ।
संसदीय निर्वाचन नजिकिँदै जाँदा प्रतिमामाथि राजनीति शुरु
Monday, June 06, 2022
0
- मनोज कुमार कौशल
Tags