मनोज कुमार कौशल
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी नेता माधवकुमार नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कार्वाही गर्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्य माथि कारवाही गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधेका माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले साधारण सदस्य नरहने गरी कार्वाही गर्ने निर्णय गरेको हो ।
बैठकले खनाल, नेपाल, रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरादेवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो ।
यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफल भएको थियो ।
यस्तै बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने समेत निर्णय गरेको छ।