सरकारले खरीद गर्न लागेको सेक्युरिटी प्रिन्टिङमा सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग ७० करोड कमिसनको बार्गेनिङ भएकोे अडियो सार्वजनिक भएको छ ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो । स्वीस कम्पनीलाई सेक्युरिटी प्रिन्टिङको ठेक्का दिदा ७० करोड आउने र त्यसको ७० प्रतिशत मन्त्रीको भागमा पर्ने मिश्रले टेलिफोन सम्वादमा उल्लेख गरेका छन् । उनले आफूहरुले पनि १५/१६ करोड राख्ने बताएका छन् ।
यसका लागि मन्त्री बाँस्कोटाले कर्मचारीसँग मिलाउने जिम्मा तिनै मिश्रलाई दिएका छन् । कर्मचारीप्रति अपशब्द नै बोल्दै मन्त्री बाँस्कोटाले आफूले प्रस्ताव गर्दा हेप्ने भएकाले मिश्रलाई नै मिलाउने जिम्मा दिएका छन् ।
मन्त्री बाँस्कोटा कञ्चनपुर भएकाले यो प्रकरणमा थप कुराकानी हुन नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
यता, सार्वजनिक लेखा समितिले भने आजै (बिहीबार) बिहान ११ बजे यसबारे सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयका सचिवलाई बोलाएको छ । समितिका सभापति भरत साहका अनुसार, यो प्रकरणमा परेको उजुरीमाथि छानबिन भइरहेकाले सम्बन्धित अधिकारीलाई बोलाइएको हो ।