नेपालगञ्ज ।
नेपाल जडीबुटी व्यवसायी संघको २४औं साधारणसभा आइतवार सम्पन्न भएको छ ।
‘नेपाली जडीबुटीलाई विश्वमा चिनाऔं, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाऔं’ भन्ने नाराका साथ जबानले आफ्नो २४औं साधारण सभाको आयोजन गरेको हो ।
नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षतामा आयोजन भएको सो कार्यक्रममा जबानका वरिष्ठ सल्लाहकार रविन्द्रनाथ शुक्लाले जबानको भवन रहेको यस मार्गलाई जडीबुटी मार्गको नामाकरण गर्ने त्यस्तै नेपालगञ्जमा जडीबुटी उद्यानको स्थापना हुनुपर्ने माग राख्दै उनले भने, तराईमा हर्राे, बर्राे, अमला जस्ता तमाम प्रकारका जडीबुटीहरु छन् तर यसको संकलन गर्न पाएका छैनौं यस्ता जडीबुटीलाई जडीबुटीको श्रेणीमा राखी हामीलाई यसको संकलन गर्न दिइयो भने बढी फाइदा पाउन सकिन्छ । यसका लागि सर्भे कार्य हुनुपर्ने माग राखे ।
कार्यक्रममा विशिष्ट अतिथि नेपालगञ्ज उमनपाका मेयर प्रशान्त विष्टले सरकारको विभिन्न नियम कानूनले गर्दा जडीबुटी निर्यात र संकलनमा केही समस्याहरु छ सरकारले यस्ता समस्याको समाधा गर्न सक्यो भने नेपाली जडीबुटी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ । नेपालगञ्ज उमनपा जबानलाई हरेक कार्यमा सघाउन तयार छ भन्दै उनले जडीबुटी मार्गको नामाकरण र जडीबुटी उद्यान निर्माणका लागि योजना बनाएर ल्याउनुहोस् यो कार्य गर्न नेपालगञ्ज उमनपाले गर्ने प्रयास गर्ने बताए ।
उनले भने, ‘जडीबुटी नेपालगञ्जको लागि एक पहिचान बनि सकेको छ नेपालगञ्ज अब जडीबुटीको हब बन्नुपर्छ ।’
बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ चिकित्सक अनिल कुमार चौधरीले आयुर्वेद चिकितसा पद्धतिको मुख्य आधार नै जडीबुटी हो । हाम्रो देशमा अनेकौं प्रकारका जडीबुटीहरु छन् यस कारण देशमा जडीबुटी औषधि उत्पादन गर्ने कम्पनीको स्थापना हुनुपर्छ यसो भएमात्र जडीबुटी राष्ट्रिय अर्थतन्त्रको मेरुखण्ड बन्न सक्छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र स्वच्छ जडीबुटी संकलनको लागि जबानसँग छलफल गर्ने प्रयासमा छ । स्वच्छ जडीबुटी पाउन यसलाई कहिल्यै संकलन गर्ने यसबारे जानकारी राख्न सक्नुपर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा जबानका निवर्तमान अध्यक्ष मो. याकूब अन्सारी, नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, बाँके निर्वाचन क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बादशाह कुर्मी, जबानका पूर्व अध्यक्ष राजेश जैन लगायतले नेपाल जडीबुटी व्यवसायी संघको २४औं साधारणसभामा आ–आफ्नो विचारहरु राखेका
थिए ।
कार्यक्रममा स्वागत मन्तव्य जबानका शान्ता ज्ञवालीले राखेकी थिइन् भने जबानका महासचिव भानुभक्त रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त प्रतिवेदनमा आगामी आव २०७९।०८० मा संघले लुम्बिनी प्रदेश सरकारबाट प्राप्त अनुदान रकमबाट संघको भवनसँगै हल निर्माण गर्दैछौं यसलाई अन्तिम रुप दिने कार्य जारी रहेको जानकारी गराउँदै भने, नेपाली जडीबुटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गर्न आचारसंहिता आवश्यक भएकोले जबान, दिन र नेहदाको संयुक्त लोगो रहने गरी आचारसंहिता निर्माण कार्य सम्पन्न गरियो । यसको साथै नेपाल हब्र्स नामको लोगो तयार भई सकेको छ । अमेरिका र जापानले लोगो स्वीकृत गरेको छ । बाँग्लादेश र पाकिस्तानले अन्तिम चरणमा र भारतमा यसको काम भएको र अन्य देशहरुमा पत्राचार भै रहेको छ साथै नेपालले अन्तिम चरणमा राखेकोले छिट्टै हामी नेपालको नेपाल हब्र्स नामको लोगो राखेर सामन बेच्न सक्ने हुन्छौ जानकारी गराउँदै उनले जडीबुटीको चालु रेट सबै सरोकारवालालाई प्राप्त होस् भनि आफ्नै पहलमा एउा एप्सको विकास गर्न लागिएको त्यस्तै नेपाल सरकार तथा दातृ संस्थासँग समन्वय गरी जडीबुटी खेती एवं व्यवसायलाई थप विस्तार गर्ने कार्य जारी राख्ने, जडीबुटी प्रशोधन सम्बन्धी उद्योगको स्थापनाका लागि संघका सदस्यहरुलाई हालै स्थापित जडीबुटी सूचना केन्द्र मार्फत जानकारी एवं प्रविधि उपलब्ध गराई जडीबुटी प्रशोधन कार्यलाई प्रोत्साहित गरी कोरा निकासीलाई निरुत्साहित गर्दैजाने कार्यक्रम संचालन गरिने त्यस्तै विभिन्न किसिमको जडीबुटीहरुको आपूर्तिमा निरन्तरता दिनको लागि एवं कृषकहरुलाई थप आम्दानीको श्रोत जुटाउनका लागि जडीबुटीका व्यवसायिक खेती खेतीलाई प्रोत्साहन गर्दै जाने लक्ष्य रहेको बताए ।