नेपालगञ्ज/ २०७९ पुस ३० गते।
तिलको लड्डु र खिचडीको महत्व
पौराणिक कथाहरूमा उल्लेख भएअनुसार खिचडी भगवान् शिवले आविष्कार गरेका थिए । शिवका अवतार मानिने गोरखनाथ बाबाले सजिलोका लागि आफ्ना सैनिकहरूलाई खिचडी बनाउन लगाएका थिए । यसरी पकाउन सजिलो, स्वादिष्ट हुने तथा शरीरलाई ऊर्जासमेत दिने भएकाले यसलाई विशेष रूपले खान थालियो । माघीमा खाइने खाद्यपदार्थ आयुर्वेदसँगै चिकित्साशास्त्रमा पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढ्ने गर्छ । मास हालेर पकाइएको तेल शरीरमा लगाउँदा चिसोबाट मुक्त भइन्छ । साथै, छालासम्बन्धी रोगहरूबाट समेत राहत मिल्छ ।
माघे संक्रान्तिमा तिलको लड्डु, घिउ, चाकु, तरुल र खिचडी खाने प्रचलन छ । यसरी विशेष खानेकुरा खानुका पछाडि विभिन्न किंवदन्ती पाइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार भगवान् सूर्यदेवमा क्रोध उत्पन्न भयो । उनले क्रोधका कारण पुत्र शनिदेवको कुम्भ जलाइदिए । यसकारण शनिदेवले धेरै दुःख पाए । उनको राशि कुम्भ पूरै जलिसकेकाले उनीसँग कालो तिल मात्रै बाँकी रह्यो । यसर्थ, शनिदेवले पिता सूर्यदेवलाई खुसी पार्नका लागि कालो तिलले पूजा आरधना गरे । त्यो माघे संक्रान्तिको दिन थियो । पछि सूर्यदेव प्रसन्न भए र शनिको घर मकर राशिमा प्रवेश गराई धनधान्यले पूर्ण हुने वरदान दिए । यसरी मकर संक्रान्तिका दिन कालो तिलको विशेष महत्व हुन थालेको हो ।
माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्छ ।
तरुल वा कन्दमुल यो सिजनको मौसमी खानेकुरा हुन् । प्राकृतिक रुपमा उत्पादन भएको र मौसमी खानेकुरा स्वास्थ्यका लागि विशेष हुन्छ । अन्य बालीनाली नहुने र भण्डारण गरिएको खानेकुरा पनि सकिएको अवस्थामा कन्दमुल खाएर पनि प्राण धान्ने पुरानो चलनको निरन्तरता हो यो । अहिले पनि मौसमी चक्र अनुसार खानपान शैली अपनाउने हो भने कन्दमुल खानु निकै उपयोगी हुन्छ । यो पर्व स्वास्थ्य र समाजसँग पनि एकाकार छ । बाँडिचुँडी खानुपर्छ, परिवार मिल्नुपर्छ भन्ने शिक्षा दिन्छ यो पर्वले ।