– नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा १५ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको विशेष सक्रियतामा एमालेको इतिहासमै पहिलो पटक नेपालगञ्जमा विषयवस्तका हिसावले महत्वपूर्ण र समयका हिसावले लामो प्रशिक्षण भएको छ ।
एमाले नगर कमिटीका अध्यक्ष आचार्यका अनुसार कार्यक्रममा स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय कमिटीका सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल लगायत बाँकेबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय सल्लाहकार बाबुराम गौतम, प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरुले माक्सवाद, जनताको वहुदलीय जनवाद, दर्शन, नेपालमा कम्युनिष्ट पार्टी लगायतका विषयमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समय कम्युनिष्ट पार्टीमा बैचारिकरुपमा कार्यकर्तालाई प्रशिक्षण दिने काम कम भईरहेको अवस्थामा नगर कमिटीले भने १५ दिने लामो प्रशिक्षण सम्पन्न गरेको छ ।
नगर कमिटीका इन्चार्ज कृष्णकुमार थापाले प्रशिक्षण कार्यक्रममा सहभागी कार्यकर्ताहरुले रुचीपूर्वक सहभागिता जनाएका कारण कार्यक्रम सफल भएको बताउनुभयो । प्रशिक्षणमा सहभागी नेता कार्यकर्ताहरु विषयवस्तुबारे पूर्णरुपमा जानकार भएका कारण संगठन निर्माण र पार्टीको धारणा आम कार्यकर्तामाझ पुर्याउन सहज हुने थापाको भनाई रहेको छ ।