काठमाडौं । बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि प्रदर्शन जारी छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् ।
देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप समेत लगाएका छन् ।
गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ ।
शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए ।
द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।
यता, बीबीसीका अनुसार बंगलादेशका सूचना एवम् प्रशारण मन्त्री हसन महमूदले कोमिल्लामा कुरानको कथित अपमानलाई लिएर भएको हिंसामा बंगलादेशको नेशनलिस्ट पार्टीलाई जिम्मेवार बताएका छन् । – एजेन्सी