- विद्रोही
नेउपालगञ्ज/नेपालगञ्ज उमनपा वडा नं. ७ मा रहेको महेन्द्र माविको जमिनमा भूमाफियाहरुले कब्जा गरी त्यहाँ अवैध रुपले बाटो निर्माण गरेका छन् ।
नेपालगञ्ज उमनपामा वडा नं. ७ मा रहेको महेन्द्र माविको नाममा यस जिल्लाको विभिन्न ठाउँमा जमिन रहेको छ त्यस मध्ये विगतको खासकारखाँदो ७ नं. वडा हालको १८ नं. वडा लग्दहवा गाउँको उत्तर र सिक्टा सिंचाई आयोजनाको पछाडि करीब ३ बिघा जमिनको प्लट रहेको छ उक्त जग्गा केही भूमाफिया समूहले अवैध रुपले कब्जा गरी बाटो निर्माण गरेको देखिन्छ । अहिले बाटो ग्रेभिल हाली तयार गरिएको छ । सो जमिन भूमाफियाबाट कब्जा गरिएपछि विद्यालयका सम्बन्धितहरु त्यहाँ २०७१ साल र २०७४ सालमा पुगी बाटो भत्काई जमिन मुक्त गराए थिए तर केही दिनमा त्यहाँ पुनः बाटो निर्माण गरिँदै आएको छ । आफ्नो विद्यालयको जमिन कब्जा भूमाफियाहरुबाट गरिएपछि विद्यालयले २०७५ असार २० मा बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउँदै पटक-पटक भएको अवैध बाटो निर्माण रोकी पाउन निवेदन दर्ता गरिएको छ यसको बोधार्थ जिल्ला प्रहरी कार्यालय, बाँके, नेपालगञ्ज उमनपा र ७ नं. वडा समिति कार्यालय समेतमा पठाइएको छ । तर प्रशासनबाट अतिक्रमण रोक्ने कुनै प्रकारको पहल नभएको देखिन्छ । विद्यालयका सम्बन्धितहरु आफ्नो जमिन संरक्षण गर्न खोज्दा दर्जनौंको संख्यामा भूमाफियाको समूह त्यहाँ पुगी अनावश्यक हस्तक्षेप गर्दै यो सडक प्रदेश सरकारको बजेट र १८ नं. वडा समिति कार्यालयको सहयोगमा भएको हो बाटो रोक्न मिल्दैन । ग्रेभिल हटाउन खोजे नराम्रो परिणाम हुनेछ भन्दै धाकधम्की दिँदै आएका छन् तर अनावश्यक हस्तक्षेप गर्नेहरु को हुन् ? उनीको नाम के हो यो कुरा विद्यालयका सम्बन्धितहरुलाई पनि थाह छैन हस्तक्षेप गर्नेहरुको नाम बुझ्न खोज्दा भूमाफियाहरु आफ्नो फर्जी नाम बताउँदै आएका
छन् । २०७४ सालमा विद्यालयका शिक्षक संजय नाग र एक अन्य कर्मचारी कैलाश गडेरिया त्यहाँ पुगी जमिनको संरक्षण गर्ने प्रयास गरेका थिए भूमाफियाहरु त्यस समय ग्रेभिल हटाउने कुरामा मौखिक सहमति गरेका थिए तर अहिले उनीहरु पुनः ग्रेभिल बाटोलाई पक्की निर्माण गराउने प्रयासमाछन् ।
यस सम्बन्धमा वडा नं. १८ का वडाध्यक्ष दीपक कुमार वर्माको मोबाइल नं. ९८५८०२४१८७ नं.मा कुराकानी गर्दा उनले महेन्द्र मावि विद्यालयको जमिन १८ नं. वडाले गरेको होइन । वडा समिति तर्फबाट त्यहाँ बाटो निर्माण गराइएको पनि होइन यस कारण मलाई यसबारे कुनै प्रकारको जानकारी छैन म यसबारेमा जवाफदेही पनि छैन विद्यालयको जमिन भूमाफिया- हरुबाट कब्जा गरिएको छ भने सम्बन्धितहरुले जमिनमाथिको अतिक्रमण हटाउने पहल गर्नुपर्छ । म यस सम्बन्धमा केही पनि गर्न सक्दैन भूमाफियाहरु को हुन् यसबारे पनि मलाई थाह छैन । अतिक्रमण गरिएको जमिन मुक्त पार्ने कार्य हुनुपर्ने बताए ।
तर जमिनको बारे जिल्ला प्रशासन कार्यालय बाँकेले २०७८ असार २८ मा जिल्ला प्रशासन कार्यालयलाई दिएको निवेदन पत्र सक्कलै पठाई विद्यालयको च. नं. ३ मिति २०७८ असार २० गतेको अवैध बाटो निर्माण रोकी पाउँ भन्ने विषयको निवेदन यसै पत्रसाथ संलग्न राखी पठाइएकोले सरकारी जग्गामा सहमति मन्जुरी बिना सार्वजनिक बाटो निर्माण कार्य हुन गर्न नदिने व्यवस्थाका लागि स्थानीय वडा समिति कार्यालयलाई समेत समन्वय गरी आवश्यक कारवाही गरी सो जानकारी यस कार्यालयलाई दिनुहुन आग्रह गरेको देखिन्छ । यसरी जमिन अतिक्रमण गरिएको बारेको जानकारी १८ नं. वडा समिति कार्यालयको पूणर् जानकारीमा रहेको आफै नै प्रष्ट हुन्छ । भूमाफियाहरुसँग १८ नं. वडा समिति कार्यालयको एक आपसमा घाँटी जोडिएकोले वडा समिति कार्यालय यसबाट पन्छिन खोजेको देखिन्छ ।
जहाँसम्म कुरा छ विद्यालयको यस जमिनमाथि सार्वजनिक बाटो प्रदेश सरकारको बजेटबाट भएको हो भन्ने कुरा सोझै निराधार र कपोलकल्पित देखिन्छ । प्रदेश सरकारलेसोझै कुनै व्यक्तिलाई बजेट दिन सक्दैन । यसको लागि वडा समितितर्फबाट मात्र कार्य हुन सक्छ । अहिले त्यहाँ भूमाफियाहरु संगठित भएर विद्यालयको जमिन कब्जा गर्न मात्र खोजेको देखिन्छ । सो सरकारी जमिनको बारे बाँके जिल्ला प्रशासन, नेपालगञ्ज उमनपा कार्यालय, बाँके जिल्ला प्रहरी कार्यालयलाई जानकारीमा रहेको समय भूमाफियाहरुले जबरजस्ती विद्यालयको सरकारी जमिनमाथि कब्जा गर्नु र त्यहाँ बाटो निर्माण गर्नु विद्यालयका सम्बन्धितहरुले त्यसको संरक्षण संवद्र्धन गर्न जाँदा धाकधम्की देखाई धपाउनु जस्तो कार्यले प्रष्ट हुन्छ कि यहाँ विधिको शासन भने छैन । धाकधम्की र बल प्रयोग गरी सरकारी जमिन जब भूमाफिया समूहबाट कब्जा हुन्छ भने त्यस्ता भूमाफियाहरु सर्वसाधारणको जमिन कति कब्जा गरेका होलान् । तसर्थ अब सम्बन्धितहरुले विद्यालयको जमिनबारे पन्छिन नखोजी जमिनलाई अतिक्रमणबाट मुक्त गराउनु जरुरी छ त्यस्तै भूमाफियाहरुले पनि आफ्नो परिचय लुकाई विद्यालयको जमिनमा सार्वजनिक बाटो बनाउने बजेट कहाँबाट निकासा भएको हो यसबारेमा खुलाउँदै बाटो निर्माण गर्दा विद्यालयबाट सहमति गरिएको हो कि होइन यसबारेमा स्पष्ट पार्नु जरुरी छ उनीबाट यस्तो कार्य हुँदै रहन्छ त्यस्ताहरुको खोज तलाश गरी कडा कारवाही हुनुपर्ने माग महेन्द्र माविका अभिभावक वर्ग समेतको रहेको छ । किनकि अहिलेसम्म विद्यालयको जमिन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको राय सल्लाहले भएको कुरा चर्चा परिचर्चामा थियो । यसरी भूमाफिया र हालको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको संलिप्ततामा विद्यालयको जमिन अतिक्रमणमा परेको आशंकाहरु विद्यमान थियो यो कुरामा केही सत्यता पनि रहेको महसुस हुँदै आई रहेको थियो । विद्यालयका शिक्षक र कर्मचारी जमिनमाथिको अतिक्रमण हटाउने प्रयास बारम्बार गर्दै रहे त्यहाँ पुगी जमिनको संरक्षण संवद्र्धन गर्नेसम्म प्रयास गरे तर अहिलेसम्म कार्य गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु विद्यालयबाट सबै प्रकारको सुखसुविधाको उपयोग गरे तर विद्यालयको जमिनलाई अतिक्रमण मुक्त गराउन त्यहाँ एक पटक पनि नपुगेको देखिन्छ । यस कारण अब विद्यालयका सम्बन्धितहरुले विगतमा कसको कमी कमजोरीको कारण भूमाफियाहरुले विद्यालयको जमिन अतिक्रमण गराई सार्वजनिक बाटो निर्माण गराउन सघाए यसबारेमा पनि जानकारी राखी स्पष्ट कुरा बाहिर ल्याउने प्रयास गर्नुपर्ने जरुरी रहेको देखिन्छ ।