नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता बढेको छ ।
शनिबार कतारमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यसअघि मलेसियासहित मध्यपूर्वी एसियाली देश यूएई, कुवेत, लेबनान, ओमान र बहराइनमा कोरोना भाइरसका संक्रमितहरु भेटिइसकेका छन् ।
अहिलेसम्म दक्षिण कोरियामा ३ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको छ । १८ जनाको मृत्यु भइसके
को छ । यो मुलुकमा ४४ हजारभन्दा बढी नेपालीहरु कार्यरत छन् । यद्यपि अहिलेसम्म नेपालीहरुमा कोरोना संक्रमण भएको छैन ।
खाडी मुलुक इरानमा ५९३ जनामा संक्रमण हुँदा ४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ हजार १२८ जना संक्रमित भेटिएका छन् भने २९ जनाको मृत्यु भएको छ । जापानमा २४५ जनामा संक्रमण भेटिएको छ र ५ जनाको मृत्यु भएको छ ।
सिंगापुरमा १०२, फ्रान्समा १००, हङकङमा ९५, अमेरिकामा ६२, स्पेनमा ४६, कुवेतमा ४५, थाइल्यान्डमा ४२, बहराइनमा ३८, मलेसियामा २५, अष्ट्रेलियामा २४, बेलायतमा २३, यूएईमा १९, क्यानडामा १४, इराकमा १३, मकाउमा १०, लेबनानमा ७, नर्वे तथा ओमानमा ६/६, इजरायलमा ५, भारतमा ३ र कतारमा १ जनामा कोरोना संक्रमण भेटिएको छ । यी देशहरु नेपाली कामदार तथा विद्यार्थीहरु रहेका मुलुक हुन् ।
न सावधानी, न तयारी
नेपाली कामदारको बर्चस्व रहेको मध्यपूर्वी एसियालाई विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम रहेको राष्ट्रका रुपमा सूचीकृत गरेको छ । आफैं पनि यो सूचीमा रहेको नेपालले भविश्यमा मलेसियासहितका खाडी देशमा कोरोनाका कारण आइपर्नसक्ने गम्भीर जोखिमलाई ध्यानमा राखेर अहिलेसम्म कुनै तयारी थालेको छैन ।
कोरियाबाहेकका श्रम गन्तव्य मुलुकमा जाने कामदार रोकिएका त छैनन् नै, त्यहाँबाट आएका कामदारको भरपर्दो स्वास्थ्य परीक्षण संयन्त्र बनाइएको छैन । भविश्यमा चीनमाजस्तै संकट आइलागे कामदारलाई उद्धार गर्ने वा नेपालीको जीवन रक्षाका लागि त्यहाँको सरकारसँग उचित सहकार्य गर्नेबारे कूटनीतिक पहल र वार्ता पनि थालिएको छैन ।
अहिले कोरोना पुष्टि भएपछि श्रम गन्तव्य देशका नेपाली दूतावासले सचेत रहन भन्दै नेपालीहरुका लागि वेबसाइटहरुमा सामान्य सूचना मात्रै जारी गरिरहेका छन् । त्योभन्दा बाहेक अरु सचेतना र सावधानीका लागि प्रभावकारी पहलकदमी उठाइएको छैन । सूचनाको अभावले कामदारहरुमा त्रास उत्पन्न गराइरहेको छ ।
Olk