तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ॥
वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाउँदै आएका छन् । यस वर्ष पुनः यो पर्व मनाउने अवसर प्राप्त गरि रहेका छौं । यस पर्वलाई ऋषितर्पणी एवं जनै
(यज्ञोपवित) पूर्णिमा पनि भनिन्छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्परागत मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा ॅयेन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।’ भन्दै रक्षा सुत्र बाँध्ने परम्परा छ । रक्षाबन्धन धागोले धन, शक्ति, हर्ष र विजय दिन्छ भन्ने धार्मिक विश्वास छ । स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत महापुराण अन्तर्गत वामन अवतारको कथामा रक्षाबन्धनको प्रसंग भेटिन्छ । राजा बलीले जसले जति दानमा लिन्छ, त्यसलाई त्यति नै दान दिएर पठाउने यज्ञ गरी स्वर्ग जित्ने प्रयत्न गरेका थिए । सो समय देवताहरूसहित स्वर्गका राजा इन्द्र आफ्नो इन्द्रासन नै गुम्ने डरले रक्षार्थ भगवान् विष्णुकहाँ पुगे र प्रार्थना गरे । देवताहरूको संकट निवारण गर्न भगवान् विष्णुले वामन अवतार धारण गरी दैत्यराज बलीबाट बचाउने वचन दिए । त्यसपछि भगवान् विष्णु ब्राह्मणको भेषमा राजा बलीकहाँ भिक्षा माग्न पुगे । विष्णुको चाल थाहा पाएका दैत्य गुरु शुक्राचार्यले रोक्न खोज्दाखोज्दै पनि बलीले आफ्नो व्रत पूरा गर्ने उद्देश्यले तीन पाइला भूमिदान गरेरै छाडे । वामनरूपी भेषधारी भगवान् विष्णुले तीन पाइलामा आकाश, पाताल र धर्ती नापेर लिए र राजा बलीलाई यसै दिन रसातल पठाइदिए । यसरी भगवान् विष्णुद्वारा बली राजाको अभिमान तोडेको आधारमा पनि यो पर्व मनाउन थालिएको पाइन्छ । जनैमा रहने दुईवटा शिखाका ६ डोरामध्ये एउटा शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाका तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । सोही प्रसंगमा रसातल पुगिसकेका बलीले एक पटक आफ्नो भक्तिले भगवान् विष्णुलाई सधैं आफूसामु रहन वचनबद्ध गराए वचनमा हारेकाले भगवान् विष्णु रसातलमै बस्न बाध्य भए । यता विष्णु वैकुण्ठ नफर्किएपछि लक्ष्मीलाई शंका लाग्यो र उनले नारदलाई कुनै उपाय खोज्न आग्रह गरिन् । नारदजीको उपाय अनुसार लक्ष्मीले राजा बलीसँग गएर उनलाई रक्षाबन्धन बाँधेर आफ्नो भाइ बनाइन्, बलीलाई खुसी पारिन् । खुसी भएका बलीले पनि आफ्नी दिदी लक्ष्मीलाई इच्छा लागेको वर माग्न भने । अवसरको मौका छोपी वचनबद्ध गराई लक्ष्मीले पनि वरको रूपमा विष्णुलाई वैकुण्ठ फर्काइदिन भनिन् र उनी भगवान् विष्णुलाई लिएर फर्किइन्, बलीलाई रक्षाबन्धन बाँधेको दिन पनि श्रावण शुक्ल पूर्णिमा भएको उल्लेख छ । यस दिन तागाधारीहरूले वर्षभरिका लागि जनै
(यज्ञोपवीत) मन्त्रिने र आफ्नो जनै फेर्ने भएकाले जनै पूर्णिमा भनिएको हो । साथै, यस दिन कात्यायनआदि आफ्ना शाखासूत्रका ऋषिहरूलाई खुसी पार्नका लागि कुशनिर्मित ऋषिहरूको तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पूर्णिमा पनि भनिन्छ । अघिल्लो दिन
(श्रावण कृष्ण चतुर्दशी) हातखुट्टाका नङ काट्ने, कपाल खौरने र चोखोनितो गरी एक छाक मात्र खाएर बस्ने चलन छ । यसरी एकछाकी व्रत बसेकाहरूले पूर्णिमाका दिन बिहानै नित्यकर्म गरिसकेपछि पोखरी, तालतलैया, नदी वा कुण्डआदि जलाशयमा गई सामूहिक रूपमा संकल्प एवं मन्त्रोच्चारणपूर्वक स्नान गर्दछन् । स्नान गर्दा पञ्चगव्य (गाईको दूध, दही, घिउ, गउत र गोबर), भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गर्दछन् । यसरी गरिएको स्नानलाई गणस्नान वा श्रावणी स्नान भनिन्छ र यस दिन गरिने कर्मलाई उपाकर्म भनिन्छ ।